ललितपुर महानगरपालिकाले साइकल चढ्ने संस्कृतिको विकास गर्न शनिबार साइकल जात्रा आयोजना गर्ने भएको छ।
करिब पाँच हजार मानिसको सहभागिता हुने सो जात्रा बिहान ७ः३० बजे पाटन दरबार क्षेत्रबाट सुरु हुनेछ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार सहरी क्षेत्रमा साइकल चढ्ने संस्कृतिको विकास गर्न महानगरपालिकाले साइकल जात्रा तथा ‘कोरा २०२४’ आयोजना गरेको हो।
सो जात्रा पाटन दरबार क्षेत्रबाट चोभार, कीर्तिपुर हुँदै पुनः पाटन दरबार क्षेत्रमा आएर सकिनेछ। जात्रामा स्वस्फुर्त ढंगले मानिसहरू सहभागी हुन सक्ने मेयर महर्जनले जानकारी दिए।
‘साइकल जात्राको मुख्य सन्देश भनेको साइकल चढौँ, पर्यावरण जोगाऔँ र स्वस्थ्य बनौँ भन्ने नै हो,’ महानगर प्रमुख महर्जनले भने, ‘साइकल चढ्न रुचि हुनेहरू यो जात्रामा सहभागी हुन सक्नुहुनेछ।’
साथै, जात्रामा साइकल रेस प्रतियोगितासमेत राखिएको छ भने उत्कृष्टलाई महानगरले पुरस्कार पनि प्रदान गर्नेछ। हाल ललितपुर महानगरले मुख्य सहरी क्षेत्रमा साइकल लेनसमेत छुट्याएर साइकल चलाउन सहजता प्रदान गर्दै आइरहेको छ।