भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतीक्षित चलचित्र ‘गुन्यो चोलो– कमिङ अफ एज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ कात्तिक ९ (अक्टोबर २५)मा देशभर रिलिज हुने घोषणा भएको छ।
चलचित्रको पोस्टरमा नाजिर फरक लुक्समा देखिएका छन्। नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु संकेत गर्छ। सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मिहिनेत गरेको पोस्टरबाटै देखिन्छ। नाजिरले ‘गुलाबी’कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।
पोस्टरमा नाजिर पहेँलो रंगको वान पिसमा छन्। उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन् भने अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा कहीँ कतै चोटको निशान छ। नाकमा नथिया, कानमा झुम्का र पूरै शृंगारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ देखिन्छ।
यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन्। नाजिरले यस चलचित्रको चरित्र निर्माणका लागि जति संघर्ष गरेका छन्, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उति नै मिहिनेत गरेकी छिन्।
निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘नीलहिरा समाज’ र ‘मितिनी नेपाल’सँग पनि परामर्श गरेकी थिइन्। धेरै खोज र अनुसन्धानपछि उनले यस चलचित्रमा आफ्नो ज्यान भरेको बताइन्। चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन्।
अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दी स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरका अलावा चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ।
चलचित्रको थिम मात्र नभएर प्रोडक्सन पनि उत्कृष्ट छ। चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको हो। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ। चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। २०२४ कै बहुप्रतीक्षित हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी छिन्।
नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोडक्सन डिजाइन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन्।