फ्रेन्च खेलाडी जिरुडको सन्न्यास

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय टोलीबाट एक सय ३७ खेलमा ५७ गोल गरेका फ्रान्सका ओलिभर जिरुडले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए

फ्रान्सका ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । जर्मनीमा सम्पन्न युरो च्याम्पियनसिप २०२४ मा फ्रान्स सेमिफाइनलबाट बाहिरिएको एक सातापछि जिरुडले सन्न्यास घोषणा गरेको फ्रेन्च पत्रिकाहरूले जनाएका छन् । विश्व फुटबलमा दुई दिनको अन्तरमा दुई खेलाडीले सन्न्यास लिएका छन् । कोपा अमेरिकामा अर्जेन्टिनालाई दोस्रोपटक च्याम्पियन बनाएका एन्जल डी मारियाले सोमबार सन्न्यास लिएका थिए । 

जिरुडले फ्रेन्च राष्ट्रिय टोलीबाट अन्तिमपटक प्रतिस्पर्धा गरेको स्पेनविरुद्ध रह्यो । युरो २०२४ को सेमिफाइनलमा फ्रान्स स्पेनसँग २–१ ले पराजित भएको थियो । फ्रेन्च फुटबलमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमा जिरुड शीर्ष स्थानमा पर्छन् । उनले एक सय ३७ खेलमा ५७ गोल गरेका छन् । सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाउन उनले महत्वपूर्ण योगदान गरेका थिए । 

३७ वर्षीय जिरुड अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको औपचारिक घोषणा सोमबार गरेका हुन् । उनी फ्रान्सलाई विश्वकप उपाधि जिताउने टोलीका सदस्य पनि हुन् । उनले राष्ट्रिय टोलीबाट सन्न्यास लिने उचित समय भएको जनाएका छन् । ‘मैले सही समयमा सन्न्यास लिएको घोषणा गरेजस्तो लाग्छ । जतिपटक राष्ट्रबाट खेलेँ, त्यति नै गौरवान्वित भएँ,’ उनले भने, ‘फ्रान्सले अर्को महत्वपूर्ण प्रतियोगिताको मध्यनजर गरी खेलाडी उत्पादन र युवाहरूलाई स्थान दिनुपर्छ ।’ 

आर्सनल र चेल्सीका खेलाडी
व्यावसायिक फुटबलमा उनले इंग्लिस प्रिमियर लिगबाट खेले । आर्सनल र चेल्सीबाट खेलेका जिरुडले सन् २०११ मा राष्ट्रिय टोलीबाट डेब्यु गरे । उनले २५ वर्षको उमेरमा मौका पाएका हुन् । १३ वर्षको अन्तर्राष्ट्रिय फुटबल करिअरमा उनले फ्रान्सबाट ६ वटा ठूला प्रतियोगिता खेले । रसियाले आयोजना गरेको विश्वकपमा फ्रान्स विजेता हुँदा उनी महत्वपूर्ण खेलाडीका रूपमा थिए । गत वर्ष कतार विश्वकपमा फ्रान्स उपविजेता बनेको थियो । त्यस टोलीमा उनी थिए । सन् २०१६ मा घरमै आयोजना भएको युरोकपमा उनले टोलीलाई फाइनलसम्म पुर्याउन भूमिका निर्वाह गरे । फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो । 

सुझावित समाचार