विश्वकीर्तिमानका लागि चेस आयोजना हुँदै

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई)का अवसरमा युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता शनिबार आयोजना गर्ने भएको छ । विश्व बुद्धिचाल महासंघ (फिडे)ले आफ्नो स्थापनाको सय वर्ष पनि मनाउँदै छ । यही अवसरमा फिडे यसपटक २० जुलाईमा २४ घण्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गर्ने अभियानमा रहेको छ । यसलाई ‘फिडे १०० गिनिज वर्ल्ड रेकर्डस् अटेम्प्ट’ नाम दिइएको छ । 

फिडेको यही अभियानअन्तर्गत नेपालमा ‘हिमालयन १००’ आयोजना गर्न लागिएको हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिसा खम्बूले बताइन् । नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियनसमेत रहेकी खम्बूले भनिन्, ‘फिडेले आफ्नो स्थापनाको सय वर्ष पुगेको अवसरमा विश्वकीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिन प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’

स्विस प्रणालीका आधारमा १० राउन्डमा सञ्चालन हुने प्रतियोगितामा सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पहिला नाम दर्ता गर्ने खेलाडीलाई प्रतियोगितामा अवसर दिइने उनले बताएकी छिन् । ‘चेस खेलेरै गिनिज वर्ल्ड रेकर्ड बनाउने विश्वव्यापी अभियानमा सहकार्य गर्न पाउँदा खुसी लागेको छ,’ युक्ति फाउन्डेसनकी प्रतिनिधि युक्ति लामा श्रेष्ठले भनिन् । 

प्रतियोगिताको कुल धनराशि ५१ हजार पाँच सय रुपैयाँ रहेको छ । प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले सात हजार, तेस्रो हुनेले चार हजार र चौथो हुने खेलाडीले तीन हजार रुपैयाँ पाउनेछन् । महिलाको विजेताले तीन हजार, उपविजेताले दुई हजार र तेस्रो हुनेले एक हजार हात पार्नेछन् । 

See More On

सुझावित समाचार