समाजवादी मोर्चा फेरि सक्रिय : सशक्त रूपमा अगाडि बढ्ने निर्णय, मोर्चामा थपियो यादव नेतृत्वको नेसपा

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

समाजवादी मोर्चा फेरि सक्रिय भएको छ । एमाले–माओवादी सत्तासमीकरणपछि निष्क्रय बनेको मोर्चा नयाँ गठबन्धन बनेसँगै फेरि सक्रिय भएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट हटेसँगै एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार पहिलोपटक मोर्चाको बैठक बसेर सशक्त रूपमा अगाडि बढ्ने निर्णय गरेको छ ।

‘विगतको समीक्षा र आगामी कार्यक्रम तय गर्न बैठकले कार्यदल गठन गरेको छ । कार्यदलले प्रतिवेदन तयार पारेपछि मोर्चाका बैठक बसेर निर्णय हुन्छ । अब मोर्चा सशक्त ढंगले अगाडि बढ्छ,’ मोर्चाका सचिवालय सदस्यसचिव खड्गबहादुर विश्वकर्माले भने । कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट खड्गबहादुर विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ छन् । कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने उनले बताए । 

समाजवादी मोर्चामा महिन्द्र राय यादव नेतृत्वको नेसपा पनि थपिएको छ । प्रततिशील र कम्युनिस्ट घटकहरूसँग छलफल चलाउँदै जाने निर्णय बैठकले गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाललाई मोर्चामा सहभागी गराउन छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महिन्द्र राय यादवसहति चारवटै पार्टीका अन्य नेताहरू सहभागी थिए । 

४ असार ०८० मा घोषणा भएको मोर्चामा माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा थिए । तर, मंगलबारको बैठकमा जसपा भने सहभागी भएन । आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपाका महासचिव विप्लवले संयोजन गरिसकेका छन् ।

मोर्चाको एक घटक जसपा नेपालले भने समाजवादी मोर्चाको औचित्य समाप्त भएको जनाएको छ । पार्टी मोर्चा र सरकारमा सहभागी भएको अवस्थामा पार्टी विभाजन गराएको भन्दै जसपा नेपाल प्रचण्डप्रति रुष्ट छ । जसपा नेता मनीष सुमनले मोर्चाको औचित्य समाप्त भएको दाबी गरे । उनले भने, ‘जुन दिन प्रचण्डले जसपा फुटाइदिएँ भन्नुभयो, त्यही दिनबाट मोर्चाको औचित्य समाप्त भइसक्यो । कसैका लागि सत्ताको भर्याङ बन्न हामी मोर्चामा बस्दैनौँ ।’ 

मोर्चाका सचिवालय सदस्यसचिव विश्वकर्माले भने मोर्चाका तर्फबाट जसपा नेपाललाई सहभागी गराउन अधिकतम प्रयास गर्ने बताए । उनले भने, ‘हामीले कुरा गरिरहेका छौँ । कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ । विश्वास छ जसपा नेपाल मोर्चामा जोडिनेछ ।’ 

मोर्चाले नयाँ गठबन्धनबाट देश पश्चगमनतिर जाने चिन्ता व्यक्त गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले देशले लय समातेका वेला प्रतिगामी शक्ति अत्तालिएर पश्चगमनतिर लाने प्रयत्नमा लागेको बताए । उनले विगतमा मोर्चालाई अगाडि बढाउन केही कमजोरी भएको स्विकार्दै अब सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । ‘विगतमा पक्कै कमजोरी भयो । विगतबाट शिक्षा लिँदै अगाडि बढ्नुपर्छ । देशलाई प्रश्चगनतिर लाने षड्यन्त्र भइरहेको छ । त्यस्तो प्रयासलाई हामी एकताबद्ध भएर सामना गर्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आगामी दिनमा कमजोरी नदोहोरिने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘मोर्चाले लय समात्दै थियो, बीचमा समीकरण अदलबदलले हामीलाई पनि प्रभाव पार्यो । त्यसबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ,’ उनले भने । मोर्चाका संयोजक विप्लवले प्रगतिशील शक्तिलाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । मोर्चा निष्क्रिय भएकोमा चिन्ता व्यक्त गर्दै विप्लवले सशक्त ढंगले अगाडि बढाउनुको विकल्प नभएको बताए ।

नेसपा अध्यक्ष यादवले मोर्चामा सहभागी गराएकोमा धन्यवाद दिँदै लक्ष्य र उद्देश्यमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाए । ‘प्रगतिशील यात्रातर्फ अगाडि बढिरहेको देशलाई नयाँ गठबन्धनले यथास्थितितिर, पश्चगमनतिर, आन्दोलनबाट प्राप्त उपलब्धिलाई चुनौती दिनेतिर उद्यत रहेको देखिन्छ । त्यसपछि बैठकले गम्भीर चिन्ता व्यक्त गरेको छ,’ विश्वकर्माले भने । 

विगतका निर्णय अलपत्र
समाजवादी मोर्चाका नारा देशव्यापी प्रचारप्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पुर्याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीहरूसँग केन्द्रीयस्तरको अन्तक्र्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्ने निर्णय अलपत्र परेको छ । 

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका छन् ।

सुझावित समाचार