कोशी प्रदेश प्रहरीले लागुऔषध प्रयोगकर्ताहरूलाई पहिचान गरेर रोकथाम गर्न आमाहरूलाई परिचालन गर्न थालेको छ। आमाहरू परिवारमा सबैभन्दा नजिक हुने र सन्तानसँग बढी समय बिताउने हुँदा उनीहरूको बानी–व्यवहारमा आएको परिवर्तन सहजै महसुस गर्ने भएकाले आमा समूहलाई अगुवा बनाएर लागुऔषधविरुद्ध कोशी प्रहरीले परिचालन गर्न थालेको हो।
व्यक्तिगत तथा पारिवारिक समस्या, अवहेलना र साथीभाइको लहलहैमा लागेर किशोरकिशोरी र युवायुवती लागुऔषधको कुलतमा फस्ने गर्छन्। यस्तो अवस्था आउन नदिन आमाहरूले चासो दिएमा आफ्नो सन्तानले लागुऔषध सेवन गरे–नगरेको सहजै थाहा पाउन सक्छन्। यसैले लागुऔषध सेवन गरेको थाहा भएमा समयमै मनोपरामर्श गर्न र अस्पतालमा उपचार गराएर कुलतमुक्त बनाउन सकिने प्रहरीको विश्वास छ।
लागुऔषधविरुद्धको यो अभियानलाई कोशी प्रहरीले ‘दुर्व्यसनविरुद्ध आमाहरू’ नाम दिएको छ। यो अभियानअन्तर्गत प्रदेशका सबै पालिकामा आमाहरूलाई समूह बनाएर अभिमुखीकरण गरिन्छ। अभिममुखीकरणमा लागुऔषध के हो र यसको असर कस्तो हुन्छ ? सेवन गर्नेहरूको लक्षण कस्तो हुन्छ ? सेवन गरेको कसरी थाहा पाउन सकिन्छ र थाहा पाएपछि उनीहरूलाई कसरी सम्झाएर रोकथाम गराउन सकिन्छ भन्नेबारे आमाहरूलाई जानकारी गराइन्छ। अभिमुखीकरणपछि आमाहरूले आफ्नो परिवारमा चनाखो भएर आफ्ना सन्तानले लागुऔषध सेवन गरे–नगरेकोमा चासो दिन्छन्।
दिनप्रतिदिन लागुऔषध सेवन गर्ने युवाहरू झन् बढ्दै गएको र प्रहरीले पक्राउ गरेर मात्र रोकथाम गर्न सम्भव नभएकाले लागुऔषध नियन्त्रणका लागि आमाहरूलाई संगठित गरेर परिचान गर्न थालिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले बताए। उनका अनुसार ‘लागुऔषधविरुद्ध आमाहरू’ अभियानलाई प्रदेशभरिका पालिकाहरूले पनि सहयोग गरेका छन्।
डिआइजी खापुङले धेरै लागुऔषध सेवनकर्ताहरू भएको र ओसारपसारमा संलग्न हुने तराईका सीमावर्ती जिल्लाहरूमा प्राथमिकता दिएर आमाहरूलाई परिचालन गर्न लागेको बताए। उनका अनुसार दुर्व्यसनविरुद्ध आमाहरू अभियानमा प्रहरी नागरिक समाज र जनप्रतिनिधिहरू मात्र नभएर लागुऔषध सेवनकर्ताहरूसमेतको सहभागितामा सचेतना अभियान सञ्चालन गरिन्छ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीम दाहालले १४ चैत ०८० देखि ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान सुरु गरेको र हाल धमाधम प्रदेशअन्तर्गतका पालिकाहरूका वडास्तरसम्म आमाहरूको समूह निर्माण गर्ने काम भइरहेको बताए।