बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आगामी भदौमा हुने भएको छ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिएका छन् । लिग आयोजनाका लागि काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबीच सम्झौता भएको छ ।
लिगबाट खेलाडीको वरीयता निर्धारण हुने बुढाथोकीले बताए । ‘बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हरेक तीन–तीन महिनामा सञ्चालन हुनेछ । पहिलो लिग भदौ, दोस्रो मंसिर, तेस्रो फागुन र चौथो लिग जेठमा आयोजना हुनेछ,’ उनले भने, ‘लिग सञ्चालनका लागि काठमाडौं जिल्लाका ११ वटै पालिकाको पनि प्रत्यक्ष सहभागिता र सहयोग रहनेछ ।’
लिगमा पहिलो हुनेले १०, दोस्रोले ७ र तेस्रो हुनेले ३ अंक पाउनेछन् । हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायातलगायत खर्च आयोजकले बेहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिए ।