आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट : भारत र पाकिस्तानबीच फेरि ‘हाइब्रिड मोडल’को चर्चा

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

पाकिस्तानले अर्को वर्ष आयोजना गर्ने आइसिसी च्याम्पियन्स ट्रफीमा सुरक्षाको कारण देखाउँदै भारतले टोली नपठाउने सम्भावना छ । एसिया कपमा जस्तै भारत तटस्थ भूमिमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न तयार छ । 

पाकिस्तानले फेब्रुअरी २०२५ मा आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । नवौँ संस्करणको प्रतियोगितामा आठ टोली रहनेछन् । आयोजक पाकिस्तानसँगै, भारत, बंगलादेश, न्युजिल्यान्ड, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानले च्याम्पियन्स ट्रफीको मिति घोषणा गरेपछि भारतको सहभागिताबारे प्रश्न उठ्न थालेको छ । 

गत वर्ष पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको एसिसी एसिया कपमा भारत पाकिस्तानमा गएको थिएन । भारतले छिमेकी राष्ट्र पाकिस्तानसँग उनीहरूको घरेलु मैदानमा प्रतिस्पर्धा गर्न नमानेपछि एसिसीले हाइब्रिड मोडल अपनाएको थियो । जसअनुसार पाकिस्तान र भारतबीचको खेल श्रीलंकामा भएको थियो । भारतले पाकिस्तानमा सुरक्षाको कारण देखाउँदै एसिया कपमा टोली नपठाएको हो । 

यसपटक पनि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले सहभागिताबारे  निर्णय गरिसकेको छैन । तर, बोर्डका पदाधिकारीहरूले भारतीय मिडियालाई च्याम्पियन्स ट्रफीमा हाइब्रिड मोडल हुन सक्ने स्पष्ट पारेका छन् । ‘भारत कुनै पनि तटस्थ भूमिमा पाकिस्तानसँग खेल्न तयार छ,’ बोर्डका सदस्यले भने, ‘हामीलाई सुरक्षाकै चासो छ ।’ यद्यपि, बिसिसिआईले आइसिसीसँग च्याम्पियन्स ट्रफीको सुरक्षा सम्बन्धमा छलफल गर्ने जनाएको छ ।

दुबई वा श्रीलंकामा खेल हुन सक्ने
भारतले च्याम्पियन्स ट्रफीअन्तर्गतको आफ्नो खेल दुबई वा श्रीलंकामा सार्न सक्ने सम्भवाना छ । भारतले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो टोली पाकिस्तान नपठाएको एक दशक भइसकेको छ । यद्यपि, पाकिस्तान एकदिवसीय विश्वकप खेल्न सन् २०११ मा भारत आएको थियो । भारतले सेमिफाइनलमा पाकिस्तानलार्ई हराएको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले पनि भारतीय टोली च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान आउनुपर्ने माग आइसिसीमा राखेको छ । ‘प्रतियोगितामा भारतबाहेक सबै टोली पाकिस्तानमा आउन मिल्ने, तर छिमेकी राष्ट्र किन नमिल्ने ?’ पिसिबीले जनाएको छ, ‘हामीले सबै सुरक्षा व्यवस्था कडा बनाएका छौँ ।’ 

भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड समूह ‘ए’मा छन् । भारत र पाकिस्तानबीचको खेल अर्को वर्ष १ मार्चमा लाहोरस्थित गद्दाफी रंगशालामा खेलाउने तय गरिएको छ । सुरक्षाका कारण नै यो खेल लाहोरमा राखिएको पिसिबीले जनाएको छ । पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि रंगशालामा ठूलो लगानी गरेको छ । पाकिस्तानले अर्को वर्ष आयोजना गर्ने च्याम्पियन्स ट्रफीको तयारीका लागि भौतिक संरचनामा व्यापक सुधार गरेको पिसिबीले जनाएको छ ।

सुझावित समाचार