प्रेरक प्रसंग : चाणक्यको भोजन

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

यो प्रसंग भारतमा मौर्य सम्राट् चन्द्रगुप्तको समयको हो । त्यतिखेर आचार्य चाणक्य सम्राट् चन्द्रगुप्तका मुख्यमन्त्री थिए । एक दिन महामन्त्री चाणक्य आफ्नै कुटीमा थिए । एक महात्मा उनलाई भेट्न त्यहीँ पुगे । साँझको भोजनको समय भएको थियो । त्यसैले, चाणक्यले महात्मासित भोजनका लागि आग्रह गरे । महात्मा तयार भए । तुरुन्तै महात्मा र चाणक्य दुवैका लागि भोजन पस्किइयो । चाणक्यको कुटीमा निकै साधारण भोजन तयार गरिएको थियो, थोरै भात, दहीको कडी र एकथरी तरकारी । यो सब देख्दा महात्मा अचम्ममा परे ।

महात्माले चाणक्यसँगै भोजन गरे । भोजन गरिसकेपछि महात्माले चाणक्यसित प्रश्न गरे– तपाईं यति ठूलो साम्राज्यका शक्तिशाली महामन्त्री हुनुहुन्छ, जसलाई सम्राट् चन्द्रगुप्त मौर्यले समेत आदर गर्नुहुन्छ । आफूसित सबै सुख–सुविधा प्राप्त गर्ने हैसियत हुँदाहुँदै पनि यो सादा जीवनको रहस्य के हो ?

महात्माको प्रश्न सुनेपछि आचार्य चाणक्यले जवाफ दिए– हेर्नुहोस् महात्माजी, म जनताको सेवाका लागि महामन्त्री बनेको हुँ । महामन्त्री हुनु भनेको राज्यको सम्पत्ति ल्याएर आफ्नो व्यक्तिगत सुख–सुविधामा प्रयोग गर्नु होइन । त्यसैले, मैले यो कुटी पनि आफ्नै हातले बनाएको हुँ । 

महात्माले अगाडि सोधे– त्यसोभए तपाईं आफ्नो आजीविकाका लागि के गर्नुहुन्छ त ? चाणक्यले जवाफ दिए– म फुर्सद पाउनासाथ पुस्तक लेख्छु । म हरेक दिन आठ घन्टा राज्यका लागि र चार घन्टा परिवारका लागि काम गर्छु । चाणक्यको जवाफ सुनेपछि महात्माले मनमनै निश्चय गरे– जुन देशका महामन्त्री चाणक्य छन्, त्यहाँका जनता कहिल्यै दुःखी हुनै सक्दैनन् ।

सुझावित समाचार