चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा पहिलोपटक बिम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनेकी छिन् । शनिबार राति लन्डनस्थित सेन्ट्रल कोर्टमा सम्पन्न खेलमा २८ वर्षीया बारबोराले इटालियन जास्मिन पाओलिनीविरुद्ध २–१ सेटको जित निकालिन् ।
पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारेकी क्रेजिकोवाले दोस्रो सेट २–६ ले गुमाएकी थिइन् । तेस्रो तथा निर्णायक सेटमा ६–४ ले विजयी हुँदै बारबोरा च्याम्पियन बनिन् । उपाधि जितेपछि उनले करिअरकै स्मरणयोग्य दिन रहेको बताइन् ।
‘यो मेरा लागि करिअरकै स्मरणयोग्य दिन रह्यो,’ उनले भनिन्, ‘कसैले पनि यो उपलब्धि हासिल हुन्छ भनेर सोचेका थिएनन् । उनले समग्रमा यो दोस्रो एकल ग्रान्डस्लाम उपाधि जितेकी हुन् । यसअघि उनी सन् २०२१ मा फ्रेन्च ओपन च्याम्पियन बनेकी थिइन् ।
यस्तै, बारबोराले सन् २०२१ र २०२२ मा महिला युगलतर्फको बिम्बल्डन उपाधि जितेकी थिइन् । यता २८ वर्षीया पाओलिनीले लगातार दोस्रो ग्रान्डस्लाम फाइनलमा हार व्यहोरिन् । उनी फ्रेन्च ओपनको फाइनलमा पनि इगा स्वायटेकसँग पराजित भएकी थिइन् ।