विश्वासको मतका लागि प्रस्तुत प्रस्तावमाथिको छलफलमा भाग लिँदै दलका नेताहरूले सम्बोधन गरेका छन् । माओवादी, रास्वपा र एकीकृत समाजवादीका नेताहरूले नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेबीच भएको गोप्य सहमतिको आलोचना गरे भने कांग्रेस, एमालेलगायत दलका नेताले राजनीतिक स्थिरताका लागि नयाँ गठबन्धन बनेको दाबी गरे ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विशिष्ट परिस्थितिका कारण ठूला दुई दलको सहमति बनेको र यसले मुलुकलाई ठीक ठाउँमा पुर्याउने बताए । प्रत्येक तीन महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था नबनोस् भनेर नयाँ गठबन्धन बनेको उनको दाबी छ । लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने उद्देश्यलाई थप सुदृढ गर्न गरिने बताए । ‘संविधान कुनै निर्जीव वस्तु होइन, निरन्तर रूपले चलायमान हुने दस्ताबेज हो । अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरेर आवश्यकताअनुसार परिमार्जन गर्ने भनेको हो,’ उनले भने ।
संविधान कांग्रेसकै नेतृत्वमा बनेकाले अग्रगमनकारी र संविधानका आधारभूत संरचना थप मजबुत बनाउने गरी संशोधनको वातावरण बनाउने स्पष्ट पार्दै संघीयता र समावेशी समाप्त पार्छन् भन्ने गलत भाष्य निर्माण नगर्न अनुरोध गरे । ‘संघीयता, गणतन्त्र, लोकतन्त्र कमजोर गरिनेछैन । समावेशिता र विभिन्न तह र तप्काबाट प्रतिनिधित्व हुने व्यवस्थालाई कमजोर गर्ने कुनै काम गरिनेछैन । यस्ता खालका गलत भाष्य निर्माण नगर्न पनि आग्रह गर्न चाहन्छौँ,’ उनले भने । संविधानले नै १० वर्षपछि पुनरावलोकन गर भनेको भन्दै उनले त्यसो गर्नु पश्चगमन नहुने बताए । विगतमा ठूला दल मिल्दा राम्रो परिणाम आएको भन्दै अहिले पनि पार लगाउने उनको भनाइ थियो ।
एमाले सचिव योगेश भट्टराईले नयाँ समीकरण बनिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा १० दिन समय लिँदा देशमा सरकारविहीनताको अवस्था बनेको र प्राकृतिक विपत्मा थप नागरिकले ज्यान गुमाउनुपरेको टिप्पणी गरे । ‘हामीले संविधानमाथि पुनरावलोकन गर्ने, समीक्षा गर्ने भनेका छौँ । संविधानको पुनरावलोकन, संविधान संशोधन २०७२ सालको संविधानको अग्रगमनका लागि हो, पश्चगमनका लागि होइन, पछाडि फर्किनका लागि होइन । संविधान संशोधनमा प्रचण्डको सहयोग चाहन्छौँ, सहभागिता चाहन्छौँ, तपाईंलाई छुटाउँदैनौँ,’ उनले भने ।
रास्वपा सभापति रवि लामिछानेले कांग्रेस–एमालेबीच भएको सहमतिमाथि प्रश्न उठाए । जनता, दलका नेता, सांसदलाई थाहा नदिईकन मध्यरातमा कुनै व्यापारीको घरमा गरिएको सहमतिलाई राष्ट्रिय सहमति दिएर उक्त शब्दकै मानमर्दन गरिएको उनको भनाइ छ । सरकारले केही शक्तिशाली व्यक्तिमाथि अनुसन्धान थालेपछि कांग्रेस–एमालेलाई संविधान र व्यवस्थाको चिन्ता जागेको भन्दै व्यंग्य गरे ।
‘यो सहमति न राष्ट्रलाई थाहा छ, न सहमति गर्ने दलका सांसदहरूलाई थाहा छ, न नेताहरूलाई थाहा छ । यो के सहमति होला ? अनि यो कस्तो सहमति होला, जसलाई मध्यरातमा कुनै एउटा व्यापारीको घरमा बसेर गर्नुपर्ने ? अनि त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ? आजसम्म देशलाई, जनतालाई, आफ्ना दलका नेतालाई, कसैलाई थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा मनमर्दन भएको छ राष्ट्रिय शब्दको, राष्ट्रियता शब्दको । राष्ट्रिय सहमति कसैले पनि रातको अँध्यारोमा गर्नै पर्दैन,’ लामिछानेले प्रश्न उठाउँदै भने, ‘बरु हामीलाई आशंका छ, एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी भयो ? एकाएक, रातारात संविधानको चिन्ता, व्यवस्थाको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढक्याउन पुग्यो, त्यतिखेर तपाईंहरूलाई संविधानको याद आयो ?’
बेचन झा र प्रतीक थापा पक्राउ परेसँगै सरकार ढालिएको दाबी गर्दै लामिछानेले वर्तमान सरकार ढल्नुको कारण बच्चा–बच्चालाई जानकारी भएको जिकिर गरे । उनले ठूला फाइल खोलेको २४ घण्टा नहुँदै सरकार ढालेको टिप्पणी गरे । ‘फाइल खोल्छु भनेको थिइस्, खै फाइल खोलेको भनेर एक सांसदले भन्नुभएको थियो । फाइल खोलेको २४ घण्टा नहुँदै सरकार ढाल्नुभयो । कसरी खोल्ने फाइल ?’ उनले सोधे ।