जनमत पार्टीका सांसद अब्दुल खानले ठूला दल मिलेर बनाउने सरकारले मुलुकका समस्या समाधान गर्न सक्ने विश्वास आफूहरूमा रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा बोल्दै सांसद खानले कांग्रेस र एमाले मिले मुलुकका संकट समाधान गर्न सकिने विश्वास व्यक्त गरेका हुन्।
‘हाम्रो पार्टीले पहिलेदेखि नै मुलुकका समस्या समाधान गर्न सकिन्छ भने ठूला दल मिल्नुस् भन्दै आएका थियौँ, आज त्यही अवस्था आएको छ। हामीलाई विश्वास छ, कांग्रेस–एमाले मिलेर बन्ने सरकारले मुलुकलाई निकास देला । यही विश्वासका साथ हामी प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नेछौँ।’
सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिने गरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढ्ने निर्णयको पक्षमा उभिनुपरेको जिकिर गरे।