२३ वर्षपछि कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

शुक्रबार, २९ असार, २०८१
डिजिटल संस्करण

सन् २००१ पछि कोपा अमेरिकाको फाइनल सुरक्षित गर्ने क्रममा कोलम्बियाले उरुग्वेमाथि १–० को जित निकाल्यो । खेल नियन्त्रण गर्न रेफ्रीले एक रातो तथा सात पहेँलो कार्ड देखाए ।

कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको छ । कोलम्बियाले उरुग्वेलाई १–० ले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । अब उपाधिका लागि कोलम्बिया र अर्जेन्टिनाबीच खेल हुनेछ । अर्जेन्टिनाले क्यानडालाई २–० ले हराएर फाइनलमा स्थान बनाएको थियो । उरुग्वेविरुद्ध खेलमा कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो । २००१ मा कोलम्बियाले मेक्सिकोलाई १–० ले हराउँदै उपाधि हात पारेको थियो । समग्रमा कोलम्बियाको यो तेस्रो कोपा अमेरिका फाइनल हो । कोलम्बिया सन् १९७५ मा पहिलोपटक फाइनल पुग्दा पेरुसँग पराजित भएको थियो । 

२३ वर्षपछि टोलीलाई फाइनल पुर्याउने क्रममा जेम्स रोड्रिग्वेजको क्रसमा जेफर्सन लेर्माले निर्णायक गोल गरे । उनले ३९औँ मिनेटमा हेडिङ गोल गरेका हुन् । रोड्रिग्वेजले चालू कोपा अमेरिकामा सर्वाधिक अस्टिटको कीर्तिमान राखेका छन् । उनले कोपा अमेरिकाको कुनै एक प्रतियोगितामा अर्जेन्टिनी कप्तान लियोनल मेसीले राखेको सर्वाधिक कीर्तिमानसमेत भंग गरेका हुन् । रोड्रिग्वेजले कोपा अमेरिकामा छैटौँ असिस्ट गरेका हुन् । सन् २०२१ को संस्करणमा मेसीले अर्जेन्टिनालाई विजेता बनाउँदा पाँच असिस्ट गरेका थिए । 

कोलम्बिया पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । यसको फाइदा उरुग्वेले लिन सकेन । पहिलो हाफको इन्जुरी समयमा ड्यानियल मुनोज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले उरुग्वेका उगार्टेलाई कुइनोले छातीमा ठेलेपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाए । उरुग्वेले मध्यान्तरपछि प्राप्त अवसरमा गोल गर्न सकेन । 

उरुग्वे र कोलम्बियाबीचको दोस्रो सेमिफाइनल खेल सञ्चालन गर्न रेफ्रीलाई मुस्किल परेको थियो । यसकारण उनले खेल अवधिमा एक रातो र सात पहेँलो कार्ड देखाए । प्रतिस्पर्धाका दौरान दुई पक्षका खेलाडीबीच सामान्य झडप भएको थियो । 

नुनेज झगडामा उत्रिए 
कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएपछि उरुग्वेका डार्विन नुनेजले कोलम्बियन समर्थकसँग झगडा गरेका छन् । सेमिफाइनल खेलको अन्तिम ह्विसल बजेसँगै नुनेजले स्ट्यान्डमा रहेका कोलम्बियाका समर्थकसँग झगडा गरेका हुन् । बैंक अफ अमेरिका रंगशालाको स्ट्यान्डको रेलिङमा चढेर उनी झगडा गर्न पुगेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । 

सो तस्बिरमा नुनेजले कोलम्बियाका समर्थकको सामना गरिरहेको देखिन्छ । उनलाई पछाडिबाट कसैले रोक्न कोसिस गरेका थिए । उरुग्वेका कप्तान जोसे मारियाले खेलाडीले आफ्नो परिवारको रक्षा गर्न खोजेको प्रतिक्रिया दिएका छन् । ‘परिवार बसेको स्थानमा सुरक्षाकर्मी थिएन, हामीले परिवारको रक्षा गर्नुपर्यो,’ कप्तान जोसेले भने, ‘त्यहाँ बसेका केही दर्शकले धेरै रक्सी पिएका थिए । उनीहरूले हाम्रो परिवारमाथि आक्रमण गर्न सक्ने सम्भावना थियो ।’ 

समर्थक र खेलाडीबीच झगडा सुरु हुनुभन्दा अघि नै खेलाडी र कोचिङ स्टाफबीच मैदानमा नै झडप भएको थियो । कोलम्बियाविरुद्ध उरुग्वेका नुनेजले चारवटा राम्रा प्रयास गरेका थिए । 

सुझावित समाचार