गुल्मीलाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । १५ महिनासम्मका बालबालिकाले लगाउनुपर्ने सम्पूर्ण खोप २३ महिनाभित्र पूरा भएपछि जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चतता घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समितिले पालिकाहरू र प्रदेशले जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था रहेको छ ।
जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख एवं सरोकारवालाको उपस्थितिमा जिल्ला खोप समन्वय समितिका संयोजक द्राेणबहादुर खत्रीलाई जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर कुमार थापाले सक्रियता र निरन्तरताको शुभकामना व्यक्त गरे ।
गुल्मी जिल्लालाई ३० चैत ०७१ मा नेपालमै सातौँ जिल्लाको रूपमा पूर्णखोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने गरिएको छ । जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरू पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए ।
खोप कार्यक्रममले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टंकार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापानिज इन्सेफलाइटिस रोग नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण साथै खोपद्वारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वाथ्य अधिकृत आचार्यले बताए । जिल्लामा खोप केन्द्र तीन सय ३२ वटा रहेका छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् ।
पूर्णखोप दिगोपना सुनिश्चितताका लागि विभिन्न रणनीतिक योजनाहरू निर्माण गरिएको छ । यसकाा लागि प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणका लागि सूक्ष्म योजना अद्यावधिक र छुट बच्चालाई खोप प्रदान गरिनेछ ।
त्यस्तै, स्थानीय तहको वार्षिक कार्यक्रममा पूर्णखोप घोषणा र दिगोपना कार्यक्रममा समावेश र स्वीकृति, प्रत्येक वर्ष वडा, स्थानीय तह र जिल्ला सभाबाट पूर्णखोप सुनिश्चितता भएको प्रमाणीकरण, सार्वजनिक तथा प्रतिवेदन, खोपबाट बचाउन सकिने रोगहरूको खोज, अनुसन्धान, निगरानी र रोकथाम, पूर्णखोप प्रदान गरिएको सर्वेक्षण गर्ने, प्रतिवेदन तयारी गर्ने, सरोकारवालाहरूलाई पूर्णखोप र भूमिकाबारे जानकारी गराउने कार्य हुने स्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले जानकारी दिइन् ।
आफ्नो वडा, पालिका, जिल्ला पूर्णखोप सुनिश्चित गर्ने कार्यको योजना, नीति निर्माण, कार्यान्वयन, अनुगमन र घोषणा तथा दिगोपनाको व्यवस्थापन कार्यहरू स्थानीय तहको अपनत्व र नेतृत्वमा सञ्चालन हुने भएकाले पूर्णखोप कार्यक्रम स्थानीय निकायको वार्षिक कार्यक्रममा समावेश हुँदै गएका छन् ।
पूर्णखोप दिगोपन सुनिश्चितताका लागि ड्रपआउट प्रमुख चुनौती रहेको छ । खोपको गुणस्तर कायम राखेर अभियानलाई बर्सेनि सफल बनाउन र ड्रपआउट दर कम राख्न, लक्ष्यअनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मूलनको लक्ष्य प्राप्ति गर्न कार्यक्रमको सूक्ष्मयोजना, पूर्णखोप सुनिश्चितता, कोल्चेन व्यवस्थापन र दिगोपनाका लागि स्थानीय तहको सक्रियता र योजना आवश्यकता रहेको पूर्णखोप जिल्ला समन्वय समिति संयोजक जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले बताए ।
खोप, खोप सामग्री र जनशक्तिको अभाव हुन नदिन, समुदायमा खोप नलगाउने र खोप छोड्ने कारणको पहिचान र खोप छुट बच्चाहरूलाई खोप दिई सबै बच्चाले खोप लगाएको सुनिश्चित गर्ने कार्यमा स्वास्थ्य कार्यालयको समन्वय र वडा तथा पालिकाको भूमिका महत्त्वपूर्ण रहेको खत्रीले बताए ।