नेटोका पहिलो ‘सुप्रिमो’ जनरल ड्वाइट आइजनहावर सङ्गठनको लक्ष्य ब्रसेल्स र बर्लिनको स्थायी अंगरक्षक बन्नु नभई युरोपको ‘ सैन्य सामर्थ्य फिर्ता गर्नु’ रहेको भन्थे । ‘राष्ट्रिय प्रतिरक्षाका लागि युरोपमा तैनाथ सम्पूर्ण अमेरिकी सेना १० वर्षभित्र देश फिर्ता भएनन् भने यो सम्पूर्ण परियोजनाको असफलता हुनेछ,’ नेटोबारे सन् १९५१ मा आइजनहावरले लेखेका थिए । अहिले भएको भए, आइजनहावर के भन्थे होलान् ?
नेटो मित्रमण्डली मुलुकका नेताहरू यसको ७५औँ वार्षिकोत्सव मनाउन मंगलबार वासिंटनमा भेला हुँदा जर्मनी, इटली, बेलायतलगायत स्थानमा करिब ९० हजार अमेरिकी सेना तैनाथ छन् । उच्च तयारीको अवस्थामा रहेका पाँच लाख नेटो सेनाको उल्लेख्य हिस्सा अमेरिकी सेनाको छ ।
युरोपमा अमेरिकाको विशाल उपस्थिति सेनाको रूपमा मात्र छैन । ‘युक्रेन सपोर्ट ट्र्याकर डाटाबेस’अनुसार विश्वले युक्रेनलाई उपलब्ध गराएको दुई खर्ब ६ अर्ब अमेरिकी डलरको सैन्य तथा गैरसैन्य सहायतामध्ये ७९ अर्ब डलर संयुक्त राज्य अमेरिकाकै छ । काटो इन्स्टिच्युटको एक रिपोर्टअनुसार सन् १९६० यता गठबन्धन राष्ट्रहरूको जिडिपीमा अमेरिकाको हिस्सा ३६ प्रतिशतको औसतमा रहेको छ, जबकि नेटोको सैन्य खर्चमा उसको हिस्सेदारी ६१ प्रतिशतभन्दा बढी छ । र, नेटोका कमान्डर सधैँ अमेरिकी रहेका छन् ।
अब भने युरोपियनहरूले आफ्नो रक्षाका लागि थप जिम्मेवारी वहन गर्न आवश्यक रहेको स्पष्ट हुँदै गएको छ । किनकि डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीको अलगाववादी शाखा यी देशको सित्तैमा रक्षा गर्ने कुराको कडा विरोध गर्छन् । उनीहरूका अनुसार यी युरोपका धनी देशले सेनामा खर्च गर्नु नपर्दा अमेरिकाले सपनामा मात्र सोच्न सक्ने स्तरमा ‘सामाजिक सुरक्षा (सोसियल सेफ्टी नेट)’मा खर्च गर्न पाएका छन् । अर्काे कारण के भने अमेरिकी अधिकारीहरू चीनले खडा गरेका चुनौतीमा बढी केन्द्रित भइरहेका छन् । उसले आउँदा वर्षमा विशेषगरी चीन, रुस, उत्तर कोरिया र इरानबीचको बढ्दो सहयोगलाई मध्यनजर राख्दै आफ्नो ध्यान र स्रोतहरू त्यता केन्द्रित गर्नुपर्ने भएको छ । अमेरिका एक्लैले सबैतिर सबै कुरा एकसाथ गर्न सक्दैन । भविष्यका लागि शस्त्रास्त्रले सुसज्जित र सक्षम मित्रमण्डलीको खाँचो छ ।
नर्वेका विदेशमन्त्री एस्पेन बार्थ आइडेले अमेरिकी चुनावमा जोसुकैले जिते पनि युरोपेली नेताले अब आफूहरूले नेटोमा थप योगदान गर्नुपर्छ भन्ने बुझेको मलाई बताए । हालैको वासिंटन भ्रमणका क्रममा उनले रिपब्लिकनहरूले युक्रेनको युद्धका लागि युरोपेले थप बढी जिम्मेवारी लिनुपर्ने धारणा राखेको पाए । यो कामको सुरुवात भइसकेको छ, तर चाहिने जति छिटो भने होइन । नेटो शिखर सम्मेलनले नेटोका २३ सदस्य राष्ट्रले आफ्नो जिडिपीको कम्तीमा दुई प्रतिशत रक्षामा खर्च गर्ने अपेक्षा गरेको छ । तर, केवल तीन सदस्यले दशकअघिदेखि मात्रै यो थ्रेसहोल्ड पूरा गरेका छन् । नेटोका ३२ सदस्य सदस्यमध्ये लगभग एकतिहाइ अझै सन् २०१४ मा सहमत भएको उक्त सैन्य खर्चको लक्ष्यभन्दा टाढा छन् । युक्रेनमा रुसको आक्रमण र ट्रम्पको सित्तैमा सुरक्षा नदिने धम्कीले उनीहरूलाई आफ्नो रक्षाको थप खर्च उठाउन तयार नपार्दाे हो त के हुन्थ्यो होला, कल्पना गर्न गाह्रो छ ।
अमेरिकी सेनामाथिको युरोपेली निर्भरता धेरैजसो युरोपेली र अमेरिकीको चाहनाविपरीत छ । ‘इन्स्टिच्युट फर ग्लोबल अफेयर्स’को हालैको एक सर्वेक्षणअनुसार संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीका अधिकांश नागरिक नेटो गठबन्धनलाई जोगाउने लक्ष्यसहित युरोप ‘आफ्नो प्रतिरक्षाका लागि मुख्यतः आफैँ जिम्मेवार हुनुपर्छ’ भन्ने मान्यता राख्छन् । जर्मनीका सात प्रतिशत र फ्रान्सका १३ प्रतिशत उत्तरदाताले मात्र युरोपको प्रतिरक्षाका लागि अमेरिका नै मुख्य रूपमा जिम्मेवार हुनुपर्ने जबाफ दिए । अमेरिकामाथिको युरोपको निर्भरताले यस महाद्वीपमा असहजता बढाइरहेको छ ।
यसको एउटा कारण मानवीय स्वभाव पनि हो । अरूले नै सधैँ भार उठाइदिन्छ भने गठबन्धन राष्ट्रहरूले किन रक्षा क्षेत्रमा लगानी गर्छन् त ? अर्काे कारण संरचनागत हो । जब नेटोको स्थापना भयो, युरोपेली मित्रराष्ट्रहरू विनाशकारी युद्धहरूबाट भर्खरै उठ्दै थिए । उनीहरू एक–अर्काप्रति सशङ्कित र शत्रुतापूर्ण अवस्थामै थिए । यी मुलुकलाई अरू कसैले संगठित गरिदिनुपर्ने थियो । नेटोमा अमेरिकाको भूमिका अस्थायी सहयोगीबाट स्थायी संरक्षकमा परिवर्तन कसरी भयो ? सुरुमा, नेटो निर्माण स्थलको निगरानी गर्ने प्रहरीजस्तै थियो । गठबन्धन मार्सल प्लानअनुसार चल्दै गयो ।
तर, सन् १९६० को दशकसम्म आइपुग्दा अमेरिकी सेना चाँडै बाहिरिनेछैन भन्ने स्पष्ट भइसकेको थियो । सोभियत संघले जर्मनीको पूर्वी भागलगायत पूर्वी युरोपका अधिकांश भाग निलिसकेको थियो । सोभियत संघलाई रोक्न पश्चिम जर्मनी महत्वपूर्ण बन्यो । तर, नाजी सेनाले सिर्जना गरेको त्रासदीका कारण युरोपका कसैलाई पनि बलियो जर्मन सेनाको विचार हजम हुन सकेन । त्यसैले अमेरिकीहरू नै आफ्नो सेना र आणविक सुरक्षा छाता लिएर जर्मनीको रक्षा गर्न बसे ।
शीतयुद्धमाथि विस्तृत रूपमा लेखेका लस एन्जलसस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका राजनीतिशास्त्री मार्क ट्राच्टेनवर्ग भन्छन्, ‘तत्कालीन समयमा वर्तमान प्रणालीले आकार लिनुको कारण अमेरिका साम्राज्य बन्न लाग्नुको कुनै सम्बन्ध छैन । सन् १९६१ मा आइपुग्दा अमेरिकी नेताले युरोपेली सुरक्षा समस्याको विशुद्ध युरोपेली समाधान नभएको बुझे र वर्तमान प्रणाली अस्तित्वमा आएको हो ।’ उनका अनुसार अमेरिकीहरू युरोपमा अड्किन पुगे ।
जब वासिंटनलाई आफूले युरोप छोड्न नसक्ने थाहा भयो, तब उसले यसलाई आफ्नो हित अनुकूल प्रयोग गर्न थाल्यो । सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीका राष्ट्रिय सुरक्षा सल्लाहकार म्याकजर्ज बन्डलीले यस्तो भने, ‘हामी नेटोको नेतृत्व हुनुका नाताले आईपर्ने मूल्य चुकाउन बाध्य छौँ । तर, हामीलाई पनि यसका केही फाइदा छन् ।’ यसको अर्थ अमेरिकी फर्मका लागि आकर्षक रक्षा सम्झौता थिए, जुन उनीहरूका लागि युरोपमा ठूलो पदचिह्न कायम राख्न शक्तिशाली वित्तीय प्रोत्साहन बन्यो । छरिता नभए पनि पोल्यान्डले अमेरिकी ट्यांकहरू खरिद गर्छ । सञ्चालन र ममर्त–सम्भारमा अत्यन्त महँगो भए पनि रोमानियाले लडाकु जेट खरिद गर्छ ।
यो निर्भरताबाट अमेरिकी सैन्य उद्योगले लाभ लिएको छ । सन् २०२२–२३ मा युरोपेली संघका सदस्य राष्ट्रहरूले खरिद गरेका सैन्य उपकरणमध्ये करिब ६३ प्रतिशत अमेरिकी थिए । शीतयुद्धको अन्त्यपछि युरोपले अमेरिकी सैन्य छायाबाट आफूलाई मुक्त गर्ने प्रयास गरेका थिए । सन् १९९८ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र फ्रान्सका राष्ट्रपति ज्याक सिराकले स्वनिर्भर युरोपेली सुरक्षा प्रणाली निर्माणको बहस चलाए । तर, अमेरिकी विदेशमन्त्री मेडेलिन अलब्राइटले नेटोको भूमिका घटाउने, नेटोको प्रयासको नक्कल गर्ने र युरोपेली संघमा आबद्ध नरहेका नेटो सदस्यराष्ट्रविरुद्ध भेदभावको प्रयास नगर्न चेतावनीयुक्त भाषण दिएर त्यस प्रयासलाई निस्तेज पारिन् ।
सन् २०१७ मा २३ युरोपेली देशले ‘साइबर डिफेन्स’जस्ता व्यावहारिक परियोजनामा मिलेर काम गर्न ‘पर्मानेन्ट स्टक्चर्ड कोअपरेसन अन सेक्युरिटी एन्ड डिफेन्स’ सुरु गरे । त्यसमा पनि ट्रम्प प्रशासनबाट नकारात्मक प्रतिक्रिया आयो । अमेरिकी कम्पनीलाई बहिष्कार नगर्न चेतावनी दिइयो ।
आज नेटोसँग आफ्ना सदस्यहरूको रक्षा गर्न आवश्यक सैनिक तथा उपकरण तैनाथी विशेषगरी हवाई प्रतिरक्षा, गुप्तचर र निगरानीजस्ता एकाइको सन्दर्भमा क्षमताको अभाव छ । नेटोको ‘रेडिनेस’सम्बन्धी एक नयाँ प्रतिवेदनका लेखक जोन आर डेनीले मलाई बताएअनुसार नेटोका योजनाकार परिष्कृत प्रणालीको अभाव भएको बताउने गर्छन्, किनभने यस्ता उपकरण युक्रेनमा धेरै पठाइसकिएको छ र ऊसँग अब पर्याप्त उपकरण छैनन् ।
सौभाग्यवश, केही युरोपेली नेताले यसप्रति तात्कालिकताको व्यवहार देखाउन थालेका छन् । शिखर सम्मेलनमा नेटोका सदस्यले हतियार र गोलाबारुदको उत्पादन बढाउन एउटा ‘नयाँ रक्षा औद्योगिक प्रतिबद्धता’ अनुमोदन गर्ने अपेक्षा गरिएको छ । तर, नेटोको खरिद योजना अमेरिकी हतियार निर्माताहरूमै धेरै हदसम्म निर्भर छ । सन् २०३० सम्ममा युरोपमा उत्पादित उपकरणमा आफ्नो सैन्य खरिद बजेटको आधा रकम खर्च गर्ने परिकल्पना गरिएको युरोपेली आयोगले मार्चमा ल्याएको नयाँ युरोपेली प्रतिरक्षा औद्योगिक रणनीतिसँग यो कुरा मेल खाँदैन । युरोपेली संघ र नेटो एउटै पृष्ठमा आउन अत्यन्त जरुरी छ ।
यो युरोपको आफ्नो प्रतिरक्षा क्षमतातर्फको एउटा ठूलो कदम हुनेछ । विगतमा, अमेरिकीले आफ्नो अधिकारमाथि खतरा महसुस गरेका र युरोपको आफ्नै प्रतिरक्षा उद्योग निर्माण गर्ने प्रयासलाई ध्वस्त पारेका हुन सक्छन् । तर, आज, अमेरिका आफ्नै रक्षा उत्पादन बढाउन संघर्ष गरिरहेको छ, उसलाई पनि प्राप्त गर्न सक्ने सबै सहयोगको खाँचो छ । ‘बलियो युरोपको अर्थ बलियो नेटो र अन्ततः अमेरिका र युरोपबीच समान साझेदारी पनि हो । तपाईं समानताको सम्बन्ध चाहनुहुन्छ, ग्राहकको जस्तो होइन,’ एट्लान्टिक काउन्सिलको युरोप सेन्टरकी गैरआवासीय सिनियर फेलो रचेल रिजो भन्छिन् । जनरल आइजनहावरले परिकल्पना गरेअनुसार युरोपियनहरूले अन्ततः पाइला अघि सारेका छन् । अमेरिकाले उनीहरूको बाटोमा अड्चन बन्न हुँदैन ।
(स्टकम्यान अमेरिकन मेड: ह्वाट ह्यापन्स टु पिपुल ह्वेन वर्क डिसेपर्सकी लेखक हुन्)
–द न्युयोर्क टाइम्सबाट