‘मुख्य प्रशिक्षकको डेब्युमै एसियाडमा रजत दिलाएँ’

शनिबार, २३ असार, २०८१
डिजिटल संस्करण

गत वर्ष चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद प्रतियोगिता समापनको अघिल्लो दिन नेपालले कराँतेमा रजत पदक जितेको थियो । एसियाडमा नेपालले रजत जितेको दोस्रोपटक थियो । सन् १९९८ मा तेक्वान्दोबाट नेपालले पहिलोपटक रजत हात पारेको थियो । हाङझाउमा कराँतेबाट नेपाललाई पदक दिलाउने महिला खेलाडी एरिका गुरुङ थिइन् । नेपाली कराँते टोलीका मुख्य प्रशिक्षक थिए, कुशल श्रेष्ठ । उनले पहिलो अवसरमै नेपाललाई कराँतेमा ऐतिहासिक सफलता दिलाए । खेलाडीका रूपमा सागमा एक स्वर्ण, एक रजत तथा दुई कांस्य जितेका श्रेष्ठले हाङझाउ एसियाडको तयारी र पदक यात्रासम्मको स्मरण नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायलाई सुनाए: 

सन् २०१६ देखि प्रशिक्षकका रूपमा राष्ट्रिय टोली हेरेको थिएँ । मुख्य प्रशिक्षकका रूपमा मेरो वर्ल्ड सितेरियो च्याम्पियनसिप र १९औँ एसियन खेलकुदमा नेपाली टोलीलाई हेरेको पहिलोपटक थियो । यस जिम्मेवारीलाई चुनौतीभन्दा अवसरका रूपमा लिएको थिएँ । चीनको हाङझाउमा भएको एसियाडअघि इन्डोनेसियामा वर्ल्ड सितेरियो च्याम्पियनसिप भएको थियो । यो हामीलाई एसियाडको तयारीजस्तै थियो । इन्डोनेसिया टुरको रमाइलो पक्ष भनेको टोलीमा सहभागी आठमध्ये पाँच खेलाडीले पहिलोपटक अन्तर्राष्ट्रिय हवाईजहाज चढेका थिए । डोमेस्टिक प्लेन धेरै चढे पनि उनीहरूको त्यो नै पहिलो अन्तर्राष्ट्रिय हवाईजहाज चढेका थिए । 

यसको अर्थ, ती खेलाडी पहिलोपटक कराँतेबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदै थिए । इन्डोनेसियामा प्रतिस्पर्धा गरेका खेलाडी नेपालका च्याम्पियन थिए । घरेलु भूमिमा राम्रो प्रदर्शन गर्ने खेलाडीले अन्तर्राष्ट्रिय एरिनामा कस्तो प्रदर्शन गर्छन् भन्ने प्रश्न थियो । खेलाडीले पहिलो अन्तर्राष्ट्रिय इभेन्टमा नर्भस होला कि भन्ने एक प्रशिक्षकको मनमा कुरा खेलेको थियो । फेरि विश्वस्तरीय प्रतिस्पर्धामा ओछ्याइएको म्याट, त्यहाँको लाइटिङ र माहोल निकै फरक हुन्छ । यो केही खेलाडीसँग अनुभव नै थिएन । तर, फिजिकल्ली रूपमा खेलाडी सबै राम्रा थिए । उनीहरूलाई मेन्टल्ली रूपमा बलियो बनाए । विश्व सितेरियो कराँतेमा कसैले पनि नसोचेको नतिजा नेपाली खेलाडीले निकाले । नेपालले इन्डोनेसियामा प्राप्त सफलतामा सबै अचम्म परेका थिए । 

वर्ल्ड सितेरियोमा नेपालको तहल्का
इन्डोनेसियामा भएको वर्ल्ड सितेरियोमा नेपाली खेलाडीले तहल्का मचाउने कसैले सोचेका थिएनन् । खेलाडीहरू एरिनामा उत्रनुअघि उनीहरूसँग अन्तर्राष्ट्रिय म्याच एक्सपोजर कम थियो । त्यहाँ आउने विश्व च्याम्पियन खेलाडीविरुद्धको प्रतिस्पर्धाले हाम्रा खेलाडीले भरपूर अनुभव लिने अवसर थियो । उनीहरूले एसियाडअगाडि राम्रो एक्सपोजर पाउने पक्षमा म विश्वस्त थिएँ । यो प्रतियोगितालाई मैले एसियाडअगाडिको तयारी भन्दा पनि ब्याक बोनका रूपमा लिएँ । मैले पनि खेलाडीका रूपमा विश्व च्याम्पियनसिपमा भाग लिएको थिएँ । त्यस किसिमको प्रतिस्पर्धामा नेपालजस्तो राष्ट्रका खेलाडीले धेरै सिक्ने अवसर पाउँछन् । अनुभव नभएका खेलाडीले इन्डोनेसियामा यसरी खेले कि नाम नाम चलेका खेलाडी टिक्नै सकेनन् । हामीले एसियाडकै पदक दाबेदार जापानिज खेलाडीलाई पनि हरायौँ । नेपालले वर्ल्ड सितेरियोमा स्वर्ण, तीन रजत तथा पाँच कांस्य जितेको थियो । 

रेफ्रीको गलत जजका कारण हामीले थप तीन पदक जित्न सकेनौँ । यो पछि मात्र थाहा पाएँ । रेफ्रीहरूको मिटिङमा चिफ रेफ्रीले नेपालले थप पदक पाउनुपर्ने बताउनुभएको थियो । उहाँले आफ्ना प्यानलका रेफ्रीलाई हाम्रो असमान्य गल्तीले थप पदक जित्नबाट नेपाल वञ्चित भएको खुलासा गर्नुभयो । उहाँले यो जानकारी हामीलाई गराउनुभएको थियो । नेपालको नतिजाबाट विश्व सितेरियोका अध्यक्षले नेपाली पदाधिकारीलाई ‘वेल डन’ भन्नुभयो । उहाँले मलाई पनि गुड जब कोच भन्दा खुसी भएँ । त्यसपछि विश्वास भयो कि अब एसियाडमा पनि केही न केही नतिजा आउने पक्का भयो । 

एसियाडको ‘ड्र’ देख्दा तनाव
हाङझाउमा नेपाली खेलाडीले कुनै पदक जित्न सकेका थिएनन् । सबै निराश थिए । हामी त्यसवेलासम्म इन्डोनेसियामै थियौँ । चीनबाटै हामीलाई सबैले भनेका थिए, ‘कराँतेबाट पदकको आशा छ । हामी कराँतेको प्रतीक्षामा छौँ र राम्रो गर्नुपर्छ है ।’ मलगायत खेलाडीमाथि खेल्नुअघि नै दबाब सिर्जना भएको महसुस भयो । हाङझाउमा पुग्दा कबड्डीले कांस्य पदक जितिसकेको थियो । कम्तीमा नेपाल पदकविहीन नहुने पक्का भइसकेको थियो । भित्री मनदेखि यसपटक कराँतेबाट पदक पक्कै आउने विश्वास थियो । यसको कारण छ, हामीले तीन महिनाअघि नै एसियाडको प्रशिक्षण सुरु गरिसकेका थियौँ । फेरि इन्डोनेसियाको वर्ल्ड सितेरियोको नतिजाले थप आत्मविश्वास बनायो । यद्यपि, मुख्य प्रशिक्षकका रूपमा मैले नयाँ टोली लिएर गएको थिएँ । हाङझाउ विमानस्थलदेखि एसियाडको भिलेजसम्म कराँतेबाट पदक आशा मात्र सुनेँ । 

यो हामीलाई हौसला दिएको जस्तो थियो । अर्को पक्षबाट हेर्दा दबाब पनि थियो । तर, एरिनामा भिडन्त नहुँदासम्म पदकको निश्चितता हुँदैन । त्यहाँ पुगेको भोलिपल्ट नै जस्तो लाग्छ, कराँतेको ड्र भयो । त्यहाँ म र टिम म्यानेजर गयौँ । ड्र निकालिँदा मैले पदक आशा गरेका खेलाडी विश्वस्तरीय खेलाडीसँग परेको देखेँ । ओलम्पिकमा स्वर्ण, रजत र कांस्य जितेका खेलाडी थिए । कोही विश्व च्याम्पियन खेलाडीविरुद्ध नेपालले खेल्नुपर्ने भयो । त्यसपछि आफूले आफूलाई तनावमा पाएँ । जुन–जुन खेलाडीले पदक ल्याउँछन् भनी दाबी थियो । उनीहरू धेरै अनुभवी खेलाडीसँग खेल्नुपर्ने भयो । गाडीमा म र गुरु निवासगोपाल वैद्यबीच सामान्य छलफल भयो । मैले आफ्नो नर्भरनेस खेलाडीलाई देखाइनँ । मैले ड्रको लिस्ट हाम्रो ग्रुपमा राखेँ । 

खेलाडीसँग मिटिङमा मैले भनेँ, ‘हेर, भोलि हुने वर्ल्ड च्याम्पियन वा टोल च्याम्पियन जोसुकै होस्, डराउनुहुँदैन । तिमीहरू पनि देशका च्याम्पियन खेलाडी हौ । प्रतिस्पर्धामा विपक्षीलाई आफ्नै लेभलको सम्झेर खेल्नुपर्छ ।’ यदि विपक्षीलाई विश्व च्याम्पियन खेलाडी सोचेर खेल्यौँ भने सुरुदेखि नै नर्भस हुन्छ । यसकारण एरिनामा विपक्षी खेलाडीलाई आफ्नै स्तरका खेलाडीका रूपमा हेर्नुपर्ने सुझाव दिएँ । 

हेर्दाहेर्दै गेमको दिनमा आयो । भेन्युसम्म पुग्न एक घण्टाको बाटो थियो । खेलाडीलाई खेलबारे धेरै नसोच्ने र आराम गर्दै जाने सल्लाह दिएँ । सकेसम्म खेलाडीलाई सुत्न आग्रह गरेँ । एरिनामा रिल्याक्स भएर खेल्ने भनी मात्र रहेँ । खेलाडीले जति बढी खेलबारे विचार गरेका हुन्छन्, त्यति नै मानसिक रूपमा उसले तनाव लिएको हुन्छ । यो म आफू खेलाडी हुँदाको अनुभव थियो । यसकारण खेल कस्तो हुन्छ, नतिजा के आउँछ भनी उनीहरूलाई त्यसतर्फ सोच्न नदिएको हुँ । पहिलो दुई दिनमा कराँतेबाट शून्य नै भयो । मेडन टच गर्ने खेलाडी पनि ओलम्पिक खेलाडीविरुद्ध खेलेका थिए । 

जापानिज खेलाडीलाई हराएपछि पदकको आशा
कराँतेबाट लगातार शून्य नतिजा आएपछि मैले अध्यक्ष युवराज लामासँग कुरा गरेँ । एसियाडमा कराँतेले हासिल गर्ने नतिजाबारे मैले आफ्नो दुःखेसो पोखेँ । उहाँले भोलिको दिन बाँकी छ, नेपालले निश्चित रूपमा पदक जित्ने विश्वास दिलाउनुभयो । नेपाल आएपछि थप छलफल गर्ने उहाँले भन्नुभयो । हामीले पदक आशा गरेकी एरिका गुरुङको पहिलो खेल जापानिजसँग थियो । जापानिज खेलाडी पाँचौँ वरीयता र वर्ल्ड प्रिमियरसिपकी च्याम्पियन थिइन् । 

मैले एरिकालाई विपक्षी खेलाडी विश्व कराँतेमा कुन स्थानमा रहेको जानकारी दिइनँ । एरिकालाई भने जापानिजको लेभल र विश्व कराँतेमा उसको वरीयताबारे राम्रो जानकारी रहेछ । मैले एरिकालाई भनेँ, ‘विपक्षी एट्याकिङ खेल्दा आफू डिफेन्स खेल्ने । उनी डिफेन्समा रहँदा एट्याक्ट गर्ने योजना बनाउनुपर्छ, हरेक खेल लास्ट म्याच सम्झेर खेल्ने ।’ एरिकाको राम्रो पक्ष भनेको जहिल्यै पनि कोचले भनेको फलो गर्थिन् । 

जापानिजविरुद्ध एरिकाले एक अंक हात पारिन् । खेलका क्रममा नेपालको एक अंक थियो । तर, रेफ्रीले दिएनन् । मैले भिआर प्रयोग गरेँ । नेपालकै पक्षमा सेन्से रह्यो । प्रतिस्पर्धामा जापानिज खेलाडीले एक अंक लिँदा स्कोर एक–एकको भयो । त्यसपछि म तनावमा रहेँ । फेरि एरिकाले अंक गुमाउँदा नेपाल अगाडि बढ्न नसक्ने थियो । अन्तिम समयमा वार्निङ पाउँदा नेपालको सेन्से रद्द हुन्छ । त्यसलाई रक्षा गर्नुपर्ने दायित्व थियो । एरिनामा मैले एरिकालाई ‘इन्स्ट्रक्सन’ दिइरहेको थिएँ । कोचले धेरै पनि बोल्न मिल्दैन । एक–एकको स्कोरमा नेपाल सेमिफाइनलमा पुग्ने पक्का थियो । जापानले खेल सकिन तीन वा चार सेकेन्डअगाडि भिआर उठायो । त्यसवेला अब के हुन्छ भन्ने भयो । जापान र नेपाललाई हेर्ने नजर फरक थियो । तर, उनीहरूको भिआर रद्द भयो । नेपाल सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा सहजै एरिकाले हङकङका खेलाडीलाई हराउँदै फाइनलमा पुगिन् ।

एसियाडमा इतिहास रच्दा एरिका सामान्य
फाइनल पुगेसँगै कराँतेले एसियाडमा इतिहास रचिसकेको थियो । एरिकाले यसलाई निकै सामान्य रूपमा लिइन् । सेमिफाइनलपछि दुई–तीन घण्टा ब्रेक भयो । मैले उनलाई आराम गर्न निर्देशन दिएँ । प्रशिक्षकका रूपमा मैले इतिहास रचिसकेको थिएँ । तर, मान्छे पो परियो, लोभीपन आउने रहेछ । अब स्वर्ण जसरी पनि ल्याउनुपर्छ भनी फाइनलमा प्राप्त ब्रेकको अवधिमा मनमा सयौँ कुरा खेलेका थिए । म स्वर्ण भिडन्तमा डराएको थिएँ । एरिकाको अनुहारमा कुनै डर वा फाइनलको खुसी नै थिएन । तर, बीचमा धेरै ग्याप भएकाले त्यसको असर हामीमाथि पर्यो । फाइनलमा खेल्ने म्याटमा ग्रिप लिन गाह्रो भयो । निरन्तर खेल हुँदा ग्रिप हुने थियो । काजकिस्तानको विश्व नम्बर एक खेलाडी सोफियाविरुद्ध एरिकासँग अनुभव कम भएको मैले पाएँ । सोफियाले डिफेन्स रणनीति र नेपालले एगे्रसिभ अपनाएको थियो । स्वर्ण भिडन्तमा सोफिया दबाबमा रहेको पाएँ । तर, अनुभव नै सबैथोक हो भन्ने सोफियाले देखाइन् । एरिकाले प्राप्त अवसरमा अंक लिन सकिनन् । अन्तिममा हामीले रजत पदकमै चित्त बुझायौँ । यसमा खुसी वा दुःखी हुन नै सकिनँ । प्रशिक्षकका रूपमा नेपाललाई ऐतिहासिक रजत दिलाएँ । दुःख यसमा थियो, नेपालले स्वर्ण जित्न सक्थ्यो । मज्जाको पक्ष के थियो भने एरिकाले रजत जित्दा त्यसको खुसी सामान्य रूपमै मनाएकी थिइन् । नेपाल फर्कँदा मात्र उनलाई ज्ञात भयो, त्यो पदकको महत्व । उनले विमानस्थलमा भनेकी थिइन्, ‘गुरु, हामीले त स्वर्ण गुमाएका रहेछौँ ।’ त्यो रजत पदकले मेरो प्रशिक्षक करिअरमा ठूलो अर्थ राखेको छ । 

See More On

सुझावित समाचार