सिभिल सहकारी संस्थाको हिनामिनामा दोस्रो पूरक अभियोजन अदालतमा दर्ता भएको छ । १६ जना पीडितको सात करोड ८८ लाख ४४ हजार रुपैयाँ ठगीमा मंगलबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको हो ।
सुरुमा एक हजार पाँच सय तीन जाहेरीका आधारमा पाँच अर्ब ६७ करोड रुपैयाँ बिगो कायम गरी ४२ जनाविरुद्ध मुद्दा दायर भएको थियो । पछि ४२ जनाको जाहेरीका आधारमा पहिलो पूरक अभियोजन अदालत पुगेकामा १६ जनाको जाहेरीका आधारमा दोस्रो पूरक अभियोजन दर्ता भएको हो । सो सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ र अध्यक्ष केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।
सिआइबीले अनुसन्धान गरी १७ मंसिर ०७८ मा पहिलोपटक मुद्दा दायर गरेको थियो । जसमा मुख्य प्रतिवादी इच्छाराज र केशवलाल अहिले पनि कारागारमै छन् । मुद्दा दायर भएको तीन वर्ष हुन लाग्दा पनि अझै अदालतमा सुनुवाइ सुरु हुनसकेको छैन । ४२ प्रतिवादीमध्ये चारजना अझै उपस्थित भएका छैनन् ।
मुद्दाको सुनुवाइमा ढिलाइ हुँदा पीडितहरू झन् समस्यामा पर्दै गएको जाहेरीकर्तामध्ये एक डिल्ली भट्टराई बताउँछन् । ‘धेरै पीडित ज्येष्ठ नागरिक हुनुहुन्छ,’ उनले भने, ‘१६–१७ जनाले न्यायको लडाइँ लड्दालड्दै ज्यान गुमाइसक्नुभएको छ, अरू अदालतसमेत जान नसक्ने अवस्थामा हुनुहुन्छ । फैसलामा ढिलाइ हुँदा पीडितले आफ्नो पैसा पाउन सकेका छैनौँ ।’ सहकारीको पैसा तामाङले गैरकानुनी रूपमा आफ्ना निजी व्यापारमा लगाएपछि सहकारी डुबेको थियो । यसरी हिनामिना गरिएकोमध्ये केही रकम उनले विदेश लगेकोसमेत आशंका गरिएको छ ।