कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा परेर एकजना घाइते भएका छन् ।  

कास्कीको मादी गाउँपालिका– ५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुश्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका वेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यसैगरी, गएराति नै पोखरा महानगरपालिका– २७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनकी नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।     

 

See More On

सुझावित समाचार