संखुवासभाका १० वटै स्थानीय तहको नीति कार्यक्रमसहित बजेट पास

खाँदबारी नगरपालिकाको बजेट ६७ करोड ४५ लाख ७६ हजार

मंगलबार, १२ असार, २०८१
डिजिटल संस्करण

संखुवासभाका १० वटै स्थानीय तहले असार १० अर्थात् आज (सोमबार) नीति कार्यक्रमसहित बजेट ल्याएका छन् । खाँदबारी नगरपालिकाले ६७ करोड ४५ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार खाँदबारी नगरपालिकाको १६औँ नगरसभा बैठकमा उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले उक्त बजेट विनियोजन गरेकी हुन् ।

उक्त नगरसभामा आगामी आर्थिक वर्ष ०८१/८२ का नीति तथा कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रम सभाले पास गरेको थियो । त्यसपछि नगर उपप्रमुख बज्राचार्यले खाँदबारी नगरपालिकाको कुल आय–व्यय तथा विषयगत क्षेत्रमा विनियोजन गरिएको बजेट सार्वजनिक गरेकी थिइन् । समृद्ध नगर बनाउन खाँदबारी नगरपालिका लागिपरिरहेकोलगायत थुप्रै योजनाहरू अगाडि सारेका छन् ।

१० वटा स्थानीय तह रहेको संखुवासभामा पाँचवटा नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन्।  चैनपुर नगरपालिकाले ६२ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसैगरी, पाँचखपन नगरपालिकाले ५० करोड २७ लाख २२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

मादी नगरपालिकाले ४५ करोड २५ लाख ३६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । धर्मदेवी नगरपालिकाको सोमबार बसेको नगरसभा बैठकले नीति तथा कार्यक्रम मात्रै पास गरेको छ भने बजेट विनियोजन गर्न सकेन। निकट समयभित्र बजेट विनियोजन गरिने धर्मदेवी नगरपालिकाले जनाएको छ ।

यता गाउँपालिकातर्फबाट चिचिला गाउँपालिकाले २५ करोड पाँच लाख २५ हजार बजेट विनियोजन गरेको छ भने मकालु गाउँपालिकाले ४६ करोड ६८ लाख २६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसैगरी सिलिचोङ गाउँपालिकाले ३९ करोड ४२ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ भने भोटखोला गाउँपालिकाले ३१ करोड ६८ लाख ६० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसैगरी सभापोखरी गाउँपालिकाले ३७ करोड ३० लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अधिकांश स्थानीय तहले पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । 
 

सुझावित समाचार