मुगुको सोरु गाउँपालिकाले आठ वर्षपछि पालिकाको केन्द्र निर्धारण गरेको छ। गाउँसभाकाे १४औँ बैठकले पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, सदस्यहरू र कार्यपालिकाका सदस्यहरूको बहुमत निर्णयबाट पालिकाकाे केन्द्र सोरुकोटमा निर्धारण गरेकाे प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए।
शाहीले भने, ‘स्थानीय तह सञ्चालन भएको आठ वर्षसम्म सोरु गाउँपालिकाको पाालिका केन्द्र निर्धारण नहुँदा पूर्वाधार निर्माणदेखि प्रशासनिक कामकाज गर्न गाह्रो भएपछि यो पटकको १४औँ गाउँसभाले पहिलो निर्णय पालिका केन्द्र सोरुकोटमा तोक्ने गर्याे।’
विगत आठ वर्षदेखि अस्थायी रूपमा सोरुकोटमा पालिकास्तरका सेवा प्रवाह गर्दै आए पनि अस्थायी पालिका केन्द्रले गर्दा जनप्रतिनिधिदेखि कर्मचारीहरूलाई काम गर्न अप्ठ्यारो हुँदै आएको थियो। गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पालिका केन्द्र सोरुकोटमै तोकिएको निर्णय सार्वजनिक गरेको छ।
विगतका गाउँसभामा सोरुका जम्म ११ वटा वडाहरूमध्ये ६ वटा वडाका जनप्रतिनिधिले पालिका केन्द्र जिमा कुलाहा भन्ने स्थानमा र पाँच वडाका जनप्रतिनिधिले सोरुकोट भन्ने स्थानमा पालिका केन्द्र हुनुपर्ने अडानका कारण केन्द्र निर्धारण हुन सकेको थिएन ।
सोरुकोटमा विद्युत्, बैंक, प्रहरी चौकी, खाद्य डिपो, सडक पूर्वाधार, बजार विद्यालयलगायत सबैको पहुँच भएकाले १४औँ गाउँसभाले पालिका केन्द्र सोरुकोट राख्ने बहुमतले निर्णय गरेको पालिका अध्यक्ष धर्मबहादुर शाहीको बताए।