गरिबलाई पानी र बिजुली निःशुल्क दिनेदेखि ‘पेड वे’ सञ्चालनसम्मका कार्यक्रम समेट्दै पोखरा महानगरपालिकाको आउँदो आर्थिक वर्ष ०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगरपालिकाको १५औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले ‘समुन्नत पर्यटकीय पोखरा’ दीर्घकालिक सोच र ‘समुन्नत पोखराको आधार : सबल अर्थतन्त्र र पूर्वाधार’ ध्येयअनुरूप महानगरले अंगीकार गरेको नीति, स्वीकृत वार्षिक कार्यक्रम तथा महानगरवासीको बृहत्तर हितका लागि अघि सारिएका रणनीतिक महत्त्वका विभिन्न नीति, कार्यक्रम तथा आयोजना कार्यान्वयनमा जोड दिँदै आउँदो वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
महानगरपालिकाले हाल गरेको घरधुरी सर्वेक्षणका आधारमा पहिचान भएका गरिबीको रेखामुनि रहेकाहरूलाई पानी, बिजुलीको न्यूनतम महसुलसँगै स्वास्थ्य बिमा निःशुल्क गर्ने भएको हो । महानगरमा यस्तो संख्या करिब ६ हजार रहेको छ। ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सार्वजनिक यातायात सेवा, दीर्घरोगी, अपांगता भएका व्यक्ति र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा गई निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरिने नीति महानगरले लिएको छ ।
पर्यटनको राजधानी सहर पोखरामा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई लगानीका लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना, सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरी पोखरामा पर्यटक आगमन संख्या कम्तीमा १५ लाख पुर्याउने नीति तथा कार्यक्रममा अघि सारेको छ ।
नेपालमा आउने बाह्य पर्यटकहरूमध्ये कम्तीमा ६० प्रतिशत पोखरा आउने वातावरण बनाउने, पोखरा सबै मौसमका लागि भन्ने मान्यता स्थापित गर्ने गरी प्रचारप्रसार, शालिग्रामसहितको मुक्तिक्षेत्र प्रवेशद्वार, फेवातालको उत्तर पश्चिमी खण्डमा मडड्याम निर्माण, हर्पनखोला र फेवातालको संगममा फेवाबिच निर्मा, कोत्रे मजुवामा बहुसुविधायुक्त इन्ट्रान्स पार्क, सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गरी क्रमशः पैदलीकरणलाई प्रोत्साहन गर्ने, रत्न मन्दिर र परिसरको संरक्षण र प्रवर्द्धन गरी प्यालेस म्युजियमको रूपमा विकास गर्ने, पोखरा एकीकृत रणनीतिक कार्ययोजना कार्यान्वयन, लेक टु लेक, केभ टु केभ तथा कोट टु कोट पदमार्ग निर्माण, सिमसार क्षेत्रको संरक्षण, सार्वजनिक स्थलहरूको संरक्षण, बेगनास तालमा वाटर स्पोर्टस् आयोजना, ३३ वटै वडामा कम्तीमा एक पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने नीति महानगरले अघि सारेको छ ।
आयोजना बैंक, विकास खर्चलाई रोजगारीसँग आबद्ध गर्ने, सार्वजनिक जग्गाको अभिलेखीकरण र संरक्षण, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र र पूर्वचेतावनी प्रणाली सञ्चालन, बिजनेस इन्क्युवेसन सेन्टर स्थापना, एक वडा एक विशिष्ट कार्यक्रम, जेठो बुढो, उखु, मह, कफीको व्यवसायीकरण र बजारीकरणमा प्रोत्साहन, प्रांगारिक खेतीको विस्तार अभियान, बाँदरको क्षति न्यूनीकरण, कृषियोग्य बाँझो जमिनलाई व्यावसायिक कृषिका लागि उपलब्ध गराइने, भूमिबैंक स्थापना, मेकइन पोखरा मेडइन पोखरालाई प्राथमिकतामा राखी स्थानीय उत्पादनको विकास, विस्तार र प्रवर्द्धन गर्ने, पातले छाँगोमा सिसा पुल निर्माण तथा पूर्वाधार विकास आयोजना, सेती नदीमा खोँच पर्यटन पूर्वाधार विकास आयोजना, मोहर आयोजना, फेवातालका स्राेत नदीमा चेक ड्याम निर्माण आयोजना सञ्चालन गर्ने नीति महानगरले अघि सारेको छ ।
पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आह्वान गर्ने, सन् २०४३ सम्म पोखरालाई कार्बन तटस्थताको लक्ष्य हासिल गर्ने गरी कार्ययोजना अघि सादै विद्युतीय सवारीसाधनको प्रयोग ९० प्रतिशत पुर्याउने, पोखरा उपत्यका चक्रपथको सम्भाव्यता अध्ययन, पोखरा घर र कोसेलीघर निर्माण, उज्यालो पोखरा अभियान, फोहोर मैला प्रशोधन केन्द्र स्थापना, बागमारामा बहुउद्देश्यीय पुनर्स्थापना केन्द्र, पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने, हाइअल्टिच्युड खेलमैदान निर्माण, मानसिक अस्पताल स्थापना, उद्यमशीलता विकास तथा वृत्त परामर्श कार्यक्रम, सिक्दै कमाउँदै कार्यक्रम, प्राचीन पोखरी तथा तलाउहरूको उत्खनन गरी रिचार्ज, ऐतिहासिक चौतारी संरक्षण, ग्रिन सिटी क्लिन सिटी अवधारणाअनुरूप मेगा वृक्षारोपण अभियान, एकीकृत ताल विकास आयोजना तथा कार्यक्रम, पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा सहकार्य गर्ने नीति महानगरले आगामी वर्षका लागि लिएको छ ।
बेरुजु सम्परीक्षण कार्यदल गठन, राजस्व परिचालनमा योगदान पुग्ने गरी सम्पत्ति कर, मालपोत र भूमि करलाई व्यवस्थित गर्न जी आइस ट्रयाकिङ प्रणालीको विकास, घर र कोठा बहालमा दिने तथा बहालमा लिन चाहनेलाई सहज हुने गरी छुट्टै वेब प्रणाली विकास गर्ने नीति महानगरपालिकाले लिएको छ ।