खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा शनिबार बेलुका बाराको जितपुरसिमरा उपमहानगरपालिका– ३ मा एक बालकको मृत्यु भएको छ। माछा मार्नलाई रामवनमा प्रवाह गरिएको करेन्ट लागेर १३ वर्षीय नीराजन पाख्रिनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
उनका अनुसार विद्युत् प्रवाह गरेर माछा मारिरहेका वेला पाख्रिनलाई करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानसमेत सुरु गरेको छ।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले खोलामा करेन्ट लगाउने कार्य कोही कसैले गरेको देखेमा तत्काल प्रहरीमा खबर गर्न सबैमा आग्रह गरेका छन्। ‘खोलामा करेन्ट लगाउनु कानुनविपरीत हो। तर, सुरक्षालगायतका निकायको आँखा छलेर विद्युत् प्रवाह गर्दै माछा मार्ने गरिएको छ,’ उनले भने, ‘माछालाई लगाएको करेन्ट मानिसको ज्यान गइरहेको छ। त्यस्तो अवैध गतिविधि गर्नेहरूबारे तत्काल प्रहरीलाई खबर गर्नुहाेला।’