थाहा नगरपालिकाको बजेट ९१ करोड ९१ लाख

चालु आवभन्दा ८ करोड रुपैयाँले कमी

शनिबार, ८ असार, २०८१
डिजिटल संस्करण

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९१ करोड ९१ लाख ४३ हजार पाँच सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आयोजित १६औँ नगरसभामा उपमेयर भरत गोपालीले चालू आर्थिक वर्षको तुलनामा आगामी आवमा करिब आठ करोड रुपैयाँले कम बजेट सार्वजनिक गरेका हुन्।

बजेट सार्वजनिक गर्दै उपमेयर गोपालीले संघीय सरकार र प्रदेश सरकारले दिने अनुदानमा कमी आएकाले आव ०८१/८२ को बजेटको आकार घटेको बताए। उनले कुल बजेटमा चालू खर्चतर्फ ६२ प्रतिशत र पुँजीगततर्फ ३८ प्रतिशत बजेट विनियोजन गरिएको पनि जानकारी दिए। यसअघि थाहाले चालू आर्थिक वर्षका लागि थाहा नगरपालिकाले ९९ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

उपमेयर गोपालीका अनुसार थाहा नगरपालिकाले संघीय सरकारबाट समानीकरण अनुदानस्वरूप १२ करोड २८ लाख, समपूरक अनुदानस्वरूप एक करोड, विशेष अनुदानस्वरूप एक करोड, ससर्त अनुदानस्वरूप ३० करोड ७१ लाख ६ हजार पाँच सय रुपैयाँ पाउने अनुमान गरिएको छ। यस्तै, प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २३ लाख ९० हजार समपूरक अनुदान तीन करोड, विशेष अनुदान ६५ लाख, ससर्त अनुदान सात करोड १८ लाख ६७ हजार र राजस्व बाँडफाँट नाै करोड ३५ लाख ५३ हनार गरी जम्मा २१ करोड ४३ लाख १० हजार रहेको छ। 

यसैगरी, राजस्व बाडफाँटबाट १० करोड ६५ लाख ३० हजार एक सय ८२, रोयल्टीबाट एक करोड ८९ लाख ६९ हजार आठ सय गरी जम्मा ५७ करोड ५४ लाख ६ हजार पाँच सय रुपैयाँ र नगरपालिकाको आन्तरिक आयतर्फ राजस्व (कर तथा गैरकर) पाँच करोड र मालपोत दुई करोड रुपैयाँ गरी जम्मा सात करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। बजेट प्रस्तुत गर्दै उपमेयर गोपालीले नगरपालिकाको बजेटले कृषि, पूर्वाधार शिक्षा र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए। 
 

सुझावित समाचार