मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको १५औँ नगरसभामा जिल्लाका पत्रकारहरूलाई माथिको आदेश भन्दै प्रवेशमा रोक लगाइएको छ।
पत्रकार महासंघ जिल्ला शाखालाई सम्बोधन गरी जिल्लास्थित सञ्चारकर्मीलाई नगरसभाको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको भए पनि हल प्रवेश गर्न लाग्दा प्रहरीले माथिको आदेश भन्दै कार्यक्रमस्थल होटेल मुनलाइटको हलमा प्रवेश गर्न रोक लगाएको हो।
पत्रकारहरू सभा हलमा जाँदै गर्दा पहिलो प्रवेश गेटमा रहेका सुरक्षाकर्मीहरूले प्रवेश पास खोजेका थिए। कसैले प्रवेश पास नदिएकाले नगरपालिकाको निमन्त्रणापत्र देखाएपछि प्रवेश पाएका पत्रकारहरूलाई दोस्रो प्रवेश गेटमा प्रहरीले अनुमति नभएको भन्दै रोकेको हो।
पत्रकारहरूलाई निमन्त्रणा गरेर पनि प्रवेशमा रोक लगाएपछि आत्मसम्मानमा चोट पुगेको महसुस गर्दै सभास्थलबाट फर्किएको नेपाल पत्रकार महासंघ मुगु शाखा अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए।
पत्रकार महासंघ मुगु शाखाले घटनाबारे विज्ञप्ति जारी गर्दै राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार क्षेत्रमा कार्यरत पत्रकारलाई सभा स्थलमा प्रवेश गर्न अवरोध गर्नुले सर्वसाधारणको सूचनाको हकलाई कुण्ठित गर्न खोजेको उल्लेख गरिएको छ।