राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले अब भ्युटावरवाला विकास होइन स्टेडियमवाला विकासको खाँचो भएको औँल्याएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले नेकपा एमालेले ल्याएको भ्युटावरवाला खर्बौँको विकासे योजना अहिले असरल्ल परेको भन्दै गल्ती महसुस गर्न आग्रह गरे । उनले एमाले सांसदहरूको ध्यान आकर्षित गर्दै भने– तपाईंहरूको भ्युटावरवाला विकासे योजनाले कतिवटा स्टेडियम बन्थ्यो होला ?
भ्युटावर बनाउने खर्चले कम्तीमा पनि दुईवटा स्टेडियम बनाइदिएको भए नेपाली खेलाडी र युवाहरूलाई ठूलो प्रोत्साहन हुने थियो भन्दै उनले देशको खेलकुदको अवस्था पञ्चायतवाला भएको उल्लेख गरे । उनले युवा तथा खेलकुद मन्त्रालयबाट युवा शब्द हटाइदिन आग्रहसमेत गरे ।
विदेशमा युवाहरू सिडमनी बोकेर नेपाल फर्किऊँ कि नफर्किऊँ भनेर बसेका छन्, युवाहरू नेपाल फर्काउने सरकारको के योजना छ ? भनेर प्रश्न गरे । विश्वमा कुल बजेटको औसतमा साढे दुई प्रतिशत र हंगेरीमा पाँच प्रतिशत बजेट युवा र खेलकुदका लागि छुट्याइँदा नेपालले ०.९ प्रतिशत मात्र छुट्याउनु लाजमर्दाे भएको उल्लेख गरे ।
नेपालको बजेट अनुत्पादक क्षेत्रमा बढी खर्च हुने भन्दै उनले अब अनुत्पादक विकासे योजना नदोहोर्याउन सचेत गराए । विश्वकप क्रिकेटमा मधेश प्रदेशबाट ६ जना युवाहरूको सहभागी हुँदा सरकारले मधेश प्रदेशको खेलको विकासका लागि बजेट नछुट्याउनु दुर्भाग्य भएको बताए । उनले खेलकुदको विकासका लागि घरेलु प्रतियोगिता हुनुपर्नेमा जोड दिए ।