पचरौता बाराको बजेट ल्याउने पहिलाे पालिका, ६१ करोड ४३ लाख विनियोजन

मंगलबार, ४ असार, २०८१
डिजिटल संस्करण

बारा जिल्लाका १६ स्थानीय तहमध्ये आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको बाराको पचरौता नगरपालिकाले ६१ करोड ४३ लाखकाे नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।

साेमबार नगरपालिकाको कार्यालयमा आयोजित १२औँ नगरसभाबीच आर्थिक वर्ष ०८१/८२ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेकाे हाे । 

संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड २७ लाख, ससर्त अनुदान २३ करोड आठ लाख, समपूरक अनुदान एक करोड १० लाख, संघ विशेष अनुदान ७० लाख, राजस्व बाडँफाँटको नौ करोड ८८ लाख, प्रदेश सरकार समानीकरण अनुदान ९० लाख, प्रदेश ससर्त अनुदान ५० लाख, समपूरक अनुदान २० लाख, विशेष अनुदान २० लाख र नगरपालिकाको अनुमानित आन्तरिक स्रोत ६ करोड ६० गरेर र अघिल्लो आर्थिक वर्षको सञ्चित सात करोड गरेर बजेट विनियोजन गरिएको नगर प्रमुख जलान्धर सिंहले जानकारी दिए ।

उनले नगरका गौरवका योजना तथा अधुरा योजना, सामाजिक आर्थिक तथा पूर्वाधार निर्माणसँगै गुणस्तरीयतामा वृद्धि, कृषि तथा पशु विकासको आधुनिकीकरण प्रविधिमैत्री, गुणस्तरीय सेवा, आत्मनिर्भर र उद्यमशीलतामा जोड र सरोकारवालासँग फराकिलो साझेदारीलाई प्राथमिकतामा राखिएको बताए।

नीति तथा कार्यक्रमले शिक्षा, कृषि, स्वास्थ्य, भौतिक पूर्वाधार विकास तथा अन्य सामाजिक विकासमा जोड दिएको छ । नगरपालिकाले भौतिक पूर्वाधारतर्फ सार्वजनिक सुनुवाइ तथा परीक्षण कार्यलाई निरन्तरता दिने, खेलकुद तथा प्रशिक्षणका लागि आर्थिक सहयोगलाई निरन्तरता दिने, खानेपानी ट्यांकी तथा डिप बोरिङ जडान कार्यलाई निरन्तरता दिने, सौर्य विद्युतीकरणका लागि सबै वडामा सोलार जडान कार्य अगाडि बढाइने, आगलागीबाट पचरौतावासीलाई जोगाउन बारुण यन्त्रको व्यवस्थापन गर्ने नीति लिएको छ।

कार्यक्रममा नगर प्रमुख सिंहले बजेट र प्रवक्ता लक्ष्मी यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सिंहद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको छ ।

सुझावित समाचार