यू–१५ विद्यालय खेलकुद : एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

शुक्रबार, १ असार, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश प्रथम यू–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बिहीबार टिम च्याम्पियन बनेको छ । चार स्वर्ण, तीन रजत र दुई कांस्य जित्दै गण्डकी समग्रमा टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा लुम्बिनी तीन स्वर्ण, दुई रजत र ६ कांस्यसाथ उपविजेता बन्यो । तेस्रो भएको कर्णालीले तीन स्वर्ण, दुई रजत र एक कांस्य हात पार्यो । १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा कोशी, सुदूरपश्चिम, मधेश र बागमतीले समान एक स्वर्ण जिते ।

पोखरा रंगशालामा भएको छात्र चार गुणा सय मिटर रिलेमा लुम्बिनी पहिलो भयो । सोही स्पर्धाको छात्रामा गण्डकीले स्वर्ण, कोशीले रजत र कर्णालीले कांस्य जिते । सटपुटको छात्रमा कोशीका छिरिङ शेर्पा पहिलो भए । उनले १०.५७ मिटर टाढा फाले । छात्रामा ८.३७ मिटर थ्रो गरेकी लुम्बिनीकी सम्झना थारू पहिलो भइन् । छात्रको आठ सय मिटर दौडमा बागमतीका सुनील विक पहिलो भए ।

 उनले निर्धारित दूरी २ मिनेट ९.६३ सेकेन्डमा पूरा गरे । छात्रामा कर्णालीकी पूर्णिमा बुढाले निर्धारित दूरी २ मिनेट ३६.२६ सेकेन्डमा तय गर्दै स्वर्ण चुमिन् ।छात्रको दुई सय मिटर दौडमा गण्डकीका सुशान्त बोटेले स्वर्ण जिते । उनले निर्धारित दूरी २४.३३ सेकेन्डमा पूरा गरे । छात्रामा गण्डकीकी अनुष्का अधिकारी पहिलो भइन् । अनुष्काले निर्धारित दूरी २७.६२ सेकेन्डमा पूरा गरिन् । 

टेबुलटेनिस
बागमतीका जयस्नु महर्जनले टेबुलटेनिसमा तीन स्वर्ण जितेका छन् । उनले पुरुष एकल, डबल्स र मिक्स डबल्समा स्वर्ण जितेका हुन् । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको पुरुष एकल फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । महिला एकलमा बागमतीकी नर्मदा खाइतू च्याम्पियन बनिन् । टेबुलटेनिसमा सातै प्रदेशबाट समान २८ पुरुष र महिलाले भाग लिएका थिए ।

ब्याडमिन्टन
ब्याडमिन्टनमा बागमती सर्वाधिक दुई स्वर्ण र तीन कांस्य पदकका साथ टिम च्याम्पियन बनेको छ । दोसो भएको लुम्बिनीले दुई स्वर्ण जित्यो । तेस्रो स्थानमा रहेको गण्डकीले एक स्वर्ण, तीन रजत र दुई कांस्य पदक जितेको छ । कोशी र कर्णाली पदकविहीन रहे । सात प्रदेशबाट ५६ खेलाडीले विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष फाइनलमा लुम्बिनीका सुविन श्रेष्ठले गण्डकीका सफल भुजेललाई २१–१७ र २१–११ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा बागमतीकी रिहाना शेरचनले कोशीकी निभा राईलाई सीधा सेटमा २१–१० र २१–१९ ले हराइन् ।

बुद्धिचाल
बुद्धिचालको खुलातर्फ टिम इभेन्टको छात्रमा लुम्बिनी तथा छात्रामा बागमती पहिलो भएका छन् । लुम्बिनीले सात चरणको खेलमा शतप्रतिशत जितसहित १४ अंक जोड्यो । बागमती ११ अंकसहित दोस्रो तथा सुदूरपश्चिम ९ अंकसहित तेस्रो भए । छात्रामा बागमतीले शतप्रतिशत जितसहित पहिलो स्थान हात पार्यो । बागमतीको जितमा रिया श्रेष्ठले शतप्रतिशत जित निकालिन् । 

बास्केटबल
बागमतीले बास्केटबलमा दोहोरो उपाधि जितेको छ । बागमती पुरुष र महिलामा च्याम्पियन बन्यो । दुवै फाइनलमा बागमतीको प्रतिद्वन्द्वी गण्डकी रह्यो । पुरुष फाइनलमा बागमतीले गण्डकीलाई ३९–३१ ले पराजित गर्यो । महिला उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई १३–८ ले हरायो । पुरुषमा सात प्रदेश तथा महिलामा सुदूरपश्चिमबाहेक ६ प्रदेशको सहभागिता रहेको बास्केटबल प्रशिक्षक सुनील लामाले जनाएका छन् ।

सुझावित समाचार