आइसिसी टी–२० विश्वकप : नेदरल्यान्ड्समाथि बंगलादेशको २५ रनको जित

शुक्रबार, १ असार, २०८१
डिजिटल संस्करण

बंगलादेशले आइसिसी टी–२० विश्वकपमा समूह ‘डी’बाट सुपर एटको आशा जीवितै राखेको छ । प्रतियोगिताको २७औँ खेलमा बिहीबार बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो । जितसँगै बंगलादेश ४ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ । यस समूहमा दक्षिण अफ्रिकाले लगातार तीन जित निकाली सुपर एटमा स्थान पक्का गरिसकेको छ । २ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । समूह ‘डी’मा बंगलादेश, नेदरल्यान्ड्स र नेपालको अर्को चरणमा पुग्ने सम्भावना यथावत् छ । 

किंग्सटाउनमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको बलियो योगफल खडा गर्यो । प्रत्युत्तरमा नेदरल्यान्ड्सले २० ओभरमा आठ विकेटको क्षतिमा १३४ रन बनायो । बंगलादेशको जितमा ब्याटिङतर्फ सकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । बलिङमा रिसाद हुसेनले ३३ रन खर्चेर तीन विकेट लिए । तस्किन अहमेदले दुई विकेट हात पारे । नेदरल्यान्ड्सको ब्याटिङमा सेव्रान्ड इगेल्वेचले २२ बलमा ३३ रन जोडे । कप्तान स्कट एडवार्डले २३ बलमा २५ तथा विक्रमजित सिंहले १६ बलमा २६ रन जोडेका थिए ।

सकिबको अर्धशतक
पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि अनुभवी ब्याट्सम्यान सकिब अल हसनले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले महत्वपूर्ण ६४ रनको योगदान दिन ४६ बलको सामना गरेका थिए । उनले नौ चौका प्रहार गरे । बंगलादेशले पहिलो दुई विकेट २३ रनमा गुमाएको थियो । कप्तान नजमुल हुसेन र लिटन दासले समान १ रन मात्र बनाए । सकिब र ओपनर तान्जिद हसनबीच तेस्रो विकेटका लागि ३२ बलमा ४८ रनको साझेदारी भयो । 

बंगलादेशको ब्याटिङमा पाँचौँ विकेटका लागि सकिब र मोहमदुल्लाबीच ३२ बलमा ४१ रनको साझेदारी भएको थियो । ओपनर हसनले २६ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३५ रन बनाए । मोहमदुल्लाहले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरी २५ रन बनाए । जाकेर अलीले अन्तिममा सात बलमा तीन चौकाको सहयोगमा १४ रन बनाए । बलिङमा नेदरल्यान्ड्सका लागि पाउल भान र आर्यन दत्तले समान दुई विकेट हात पारे । 

हारले न्युजिल्यान्डको सुपर एट यात्रा कठिन
आइसिसी टी–२० विश्वकपमा न्युजिल्यान्डको सुपर एटको यात्रा कठिन बनेको छ । प्रतियोगिताअन्तर्गत समूह ‘सी’को बिहीबारको खेलमा न्युजिल्यान्ड आयोजक वेस्ट इन्डिजसँग १३ रनले पराजित भयो । समूहमा न्युजिल्यान्डले दुवै खेल गुमाएको छ । वेस्ट इन्डिजले लगातार तीन जितका साथ अन्तिम आठको स्थान पक्का गरेको छ ।

 पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा न्युजिल्यान्डले २० ओभरमा नौ विकेट गुमाउँदै १३६ रन बनायो । यस समूहमा वेस्ट इन्डिजले सर्वाधिक ६ अंक बटुलेको छ । अफगानिस्तानले दुई खेलबाट ४ अंक जोड्दै सुपर एटको सम्भावना बलियो बनाएको छ । विश्वकपकै डेब्यु राष्ट्र युगान्डा २ अंकका साथ तेस्रो स्थानमा छ । पपुवा न्युगिनी र न्युजिल्यान्डले अंक बटुल्न सकेका छैनन् । रनरेटमा न्युजिल्यान्ड पुछारमा छ । 

न्युजिल्यान्डले समूह चरण पार गर्न आगामी दुई खेल जितेर मात्र पुग्दैन । अफगानिस्तानको खेल नतिजा प्रतीक्षा गर्नुपर्छ । अफगानिस्तानले अर्को खेलमा जित निकाल्दा यस समूहबाट युगान्डा, पपुवा न्युगिनी र न्युजिल्यान्ड बाहिरिनेछन् । 

रुथफोर्डको आक्रामक ब्याटिङ
घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले सुरुवात राम्रो गर्न सकेन । इनिङ्सको ३.५ ओभरमा वेस्ट इन्डिजले दुवै ओपनर गुमाएको थियो । शीर्ष पाँचमध्ये चारजना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जोन्सन चाल्र्स र रोस्टन चेज शून्यमा आउट भए । सुरुवातका पाँच खेलाडी पेभेलियन फर्किंदा वेस्ट इन्डिज ६.३ ओभरमा ३०–५ को कमजोर स्थितिमा रह्यो । सेर्फने रुथफोर्डले आक्रामक ब्याटिङ गर्दै घरेलु टोलीको रनरेट मात्र उकासेनन्, टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए । 

उनले ३९ बलमा ६ छक्का र दुई चौकाको सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए । एन्डे« रुसेलले सात बलमा दुई चौका र एक छक्का प्रहार गरी १४ रन बनाए । रोमारियो सेफर्डले १३ बलमा २३ रन बनाए । बलिङमा न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले चार ओभरमा एक मेडन राखी १६ रन खर्चेर तीन विकेट लिए । टिम साउथीले २१ रन र लोकी फर्गुसनले २७ रन खर्चेर समान दुई विकेट हात पारे । 

जोसेप र गुडाकेसका घातक बलिङ
मध्यम योगफल रक्षा गर्न क्रिजमा मैदानमा ओर्लेको वेस्ट इन्डिजका लागि दुई बलरले घातक बलिङ गरे । अल्जारी जोसेप र गुडाकेसले समग्रमा सात विकेट हात पारे । जोसेपले चार ओभरमा १९ रन खर्चेर चार विकेट लिए । गुडाकेसले चार ओभरमा २५ रन दिँदै तीन विकेट हात पारे । यी दुईले घातक बलिङ गर्दा न्युजिल्यान्ड १०.६ ओभरमा ६३–५ को स्थितिमा रह्यो । सो इनिङ्समा ग्लेन फिलिप्सले ३३ बलमा तीन चौका र दुई छक्का प्रहार गरी सर्वाधिक ४० रनको योगदान दिए । ओपनर फिन आलेनले २३ बलमा २६ रन जोडे । 

सुझावित समाचार