चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर- ४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा बुधबार राति ९ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियो भने नेपालगन्जले भारत रेफर गरेको थियो । खड्कालाई मंगलबार राति १२ बजेतिर घरनजिकै बसिरहेको अवस्थामा युवाहरूको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारमा संलग्न भएको भन्दै प्रहरीले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २०–२२ वर्षका विकाश पुनलाई पक्राउ गरेको छ ।