आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गरेको छ । न्युयोर्कमा मंगलबार पाकिस्तानले क्यानडालाई सात विकेटले हराउँदै समूह ‘ए’मा पहिलो जित हात पारेको हो । पहिलो ब्याटिङ गरेको क्यानडाले २० ओभरमा सात विकेटको नोक्सानीमा एक सय ६ रनको झिनो योगफल खडा गरेको थियो । पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर एक सय ७ रन जोड्यो ।
१५ बलअघि नै जित निकाल्न पाकिस्तानका ओपनर मोहमद रिजवानले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ५३ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गरेका थिए । समूह ‘ए’मा पाकिस्तान लगातार दुई खेलमा हारको सामना गरी दबाब झेलेको थियो ।
लक्ष्य पछ्याएको इनिङ्समा पाकिस्तानको सुरुवात गतिलो भएन । इनिङ्सको ४.२ ओभरमा पाकिस्तानले पहिलो विकेट गुमाएको थियो । सैम आयुबले ६ रन बनाउँदै आफ्नो विकेट क्यानडाका विकेटकिपर मोभालाई दिए । त्यसपछि रिजवान र कप्तान बाबर अजामबीच दोस्रो विकेटका लागि ६३ रनको महत्वपूर्ण साझेदारी भएको थियो । यी दुईबीचको साझेदारी नै पाकिस्तानको जितको आधार बनेको थियो । बाबरले ३३ बलमा समान एक चौका र छक्का प्रहार गरी ३३ रनको योगदान दिए ।
क्यानडाको कमजोर ब्याटिङ
यसअघि क्यानडाले पहिलो ब्याटिङ गर्दा पाकिस्तानको कसिलो बलिङ आक्रमण सामना गर्न सकेन । ओपनर आरोन जोन्सनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले डटेर पाकिस्तानी बलरविरुद्ध स्ट्रोक लगाएनन् । इनिङ्सको १३.३ ओभरमा ओपनर जोन्सन आउट भएका थिए । उनले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ५२ रनको योगदान दिए । उनले लगातार छैटौँ विकेटका लागि साझदोरी गरे । क्यानडाले ९.५ ओभरमा पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ५४ रनको योगफल खडा गरेको थियो । जोन्सनबाहेक शीर्ष पाँच खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।