१८३ स्टार्टअपलाई २५ लाखसम्म सहुलियत कर्जा

स्टार्टअप उद्यमका लागि परेका एक हजार ६ सय ५८ आवेदनमध्ये तीन सय ९४ योग्य, तीमध्ये आधाले पाए कर्जा सिफारिस

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

एक सय ८३ स्टार्टअप परियोजनाले सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम’अन्तर्गत ती परियोजनालाई सहुलियत कर्जा दिन सिफारिस गरेको हो । यस्ता परियोजनाले वार्षिक तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । स्टार्टअप उद्यमका लागि आवेदन दिएका एक हजार ६ सय आवेदकमध्ये एक सय ८३ परियोजनालाई कर्जाका लागि सिफारिस गरिएको हो । 

सरकारले गत माघमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यम सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्यले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ ल्याएको थियो । सोही कार्यविधिअनुसार स्टार्टअप कर्जाका लागि २१ दिनको म्याद दिएर १९ माघमा परियोजना प्रस्ताव आह्वान गरेको थियो । प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि एक हजार ६ सय ५८ वटा परियोजना दर्ता भएका थिए । त्यसमध्ये कार्यविधिअनुसार तीन सय ९४ परियोजना योग्य ठहरिएका थिए । 

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धी कार्यक्रमअन्तर्गत योग्य सूचीमा परेका परियोजनाको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अंकभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि सिफारिस गरेको हो । ‘योग्य प्रस्तावकको सूचीमा परेका तीन सय ९४ वटा परियोजना प्रस्तावकलाई प्रस्तुतीकरणको आह्वान गरिएको थियो, त्यसमा तीन सय ३५ वटाले प्रस्तुतीकरण दिए,’ प्रतिष्ठानले उल्लेख गरेको छ, ‘प्रस्तुतीकरणमा उपस्थित भएका प्रस्तावको फोटो, भिडियो, वित्तीय तथा अन्य विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई समेत आधार मानी मूल्यांकन समितिले मूल्यांकन गरेर सहुलियत कर्जाका लागि सिफारिस गरिएको हो ।’ हाते कागज, डेरी, दुना–टपरी उद्योग, कृषि फार्म, फेसन, नर्सरी, इन्फोटेकलगायत विभिन्न क्षेत्रका परियोजनाले कर्जा सिफारिस पाएका हुन् । 

 तीन प्रतिशत ब्याज
छनोट भएका परियोजनाले राष्ट्रिय वाणिज्य बैंकबाट पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् । यस्तो ऋणको ब्याज वार्षिक ३ प्रतिशत हुनेछ । कर्जाको अवधि अधिकतम पाँच वर्षमा नबढाई ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट साँवा र ब्याजबापतको रकम फिर्ता प्रारम्भ गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, पन्ध्र लाखसम्मका लागि दुई किस्ता र सोभन्दा बढी २५ लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ । 

सुझावित समाचार