मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले १६ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । आइतबार आफ्नो पार्टी जनमतबाट एक विनाविभागीयसहित दुईजनालाई मन्त्री बनाएका हुन् । मुख्यमन्त्री सिंहको सिफारिसमा सिराहा ४(१) बाट निर्वाचित जनमतका त्रिभुवन साहलाई वन तथा वातावरणमन्त्री र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई विनाविभागीयमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ खाएका छन् । योसँगै मधेश प्रदेशको मन्त्रिपरिषद् १६ सदस्य पुगेको हो ।
शुक्रबार मुख्यमन्त्री बन्दा उनले १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । त्यसवेला विनाविभागीय राज्यमन्त्रीका रूपमा शपथग्रहण गरेकी रन्जुकुमारी मण्डल खंगलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । मधेशमा मुख्यमन्त्री कार्यालयसहित १२ मन्त्रालय छन् । मुख्यमन्त्री सिंहले १२ मन्त्री र तीन राज्यमन्त्री बनाएका छन् । जसमा एक विनाविभागीयमन्त्री पनि छन् ।
सिंहको मन्त्रिपरिषद्मा एमालेबाट चार मन्त्री र दुई राज्यमन्त्री छन् । त्यस्तै, माओवादी र एकीकृत समाजवादीबाट दुई–दुई तथा नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्तिबाट एक–एक मन्त्री छन् । सरकारको नेतृत्व गरिरहेको जनमतबाट मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री छन् ।