लमजुङका चार स्थानीय तहले पाएनन् विशेष अनुदान

दुईले समपुरक बजेट नपाउने

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका चार स्थानीय तहले विशेष अनुदान नपाउने भएका छन्। जिल्लाको मर्स्याङ्दी, क्होलासोँथार र दुधपोखरी गाउँपालिका तथा मध्यनेपाल नगरपालिकाले विशेष अनुदान नपाउने भएका हुन्।

सरकारले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणअनुसार चार स्थानीय तहबाहेक बेँसीसहर नगरपालिका र राइनास नगरपालिकाले विशेष अनुदानअन्तर्गत चालू बजेट नपाउने भएका छन्। सोही शीर्षकमा सुन्दरबजार नगरपालिकाका निम्ति पनि चालूतर्फ शून्य बजेट विनियोजन भएको छ।

बेँसीसहर नगरपालिकाले विशेष अनुदानअन्तर्गत पुँजीगततर्फ एक करोड पाँच लाख रुपैयाँ पाउने भएको छ भने राईनास नगरपालिकाले सोही शीर्षकमा तीन करोड रुपैयाँ पाउने भएको छ। यसैगरी सुन्दरबजार नगरपालिकाले विशेष अनुदानअन्तर्गत चालूतर्फ तीन करोड १५ लाख रुपैयाँ पाउने भएको छ।

जिल्लाका दुई स्थानीय तहले आगामी आर्थिक वर्षका लागि समपूरक बजेट नपाउने भएका छन्। राईनास नगरपालिका र सुन्दरबजार नगरपालिकाले समपूरक बजेट नपाउने भएका हुन्। सार्वजनिक भएको अन्तरसरकारी वित्तीय विवरणमा समपूरक बजेट शीर्षकमा सुन्दरबजार र राईनासका लागि बजेट विनियोजन भएको छैन।

सरकारले आर्थिक वर्ष ०८१/८२ का लागि लमजुङका सबै स्थानीय तहमा गरी तीन अर्ब चार करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ। चारवटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाका लागि मात्रै एक अर्ब ८४ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाको लागि एक अर्ब २० करोड २८ लाख रुपैयाँ विनियोजन भएको छ।

सार्वजनिक बजेट विवरणअनुसार जिल्लामा चालूतर्फ दुई अर्ब ७७ करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ भने पुँजीगततर्फ २७ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार