मकालु गाउँपालिकाको ५ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

शनिबार, २६ जेठ, २०८१
डिजिटल संस्करण

संखुवासभाको मकालु गाउँपालिकाको ५ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।

शुक्रबार मकालु– ५ नुमस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा वडा खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप दिगोपना सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न गरिएको हो।

आर्थिक वर्ष ०८०-८१ मा मकालु गाउँपालिका वडा नं. ५ मा पूर्ण खोप प्राप्त गर्ने १६ देखि ५९ महिनासम्मका र नियमित खोप पाइरहेका बालबालिकाको संख्या १८५ रहेको र कुनै बालबालिका खोपमा छुट भएको नभेटिएको प्राथमिक स्वास्थ्य चौकी प्रमुख तथा वडा खोप समन्वय समितिका सदस्य सचिव डा. सुदामा राजवंशीले जानकारी दिइन्।

उनले खोपकार्ड नभएका बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको र हरेक बालबालिकाहरूले पूर्ण खोप प्राप्त गरेको बताइन्। 

यसैगरी, हालसम्म खोप पाइरहेका वडा नं ५ का १५ महिनासम्मका कुल ७० बालबालिकाहरूले नियमित रूपमा खोप लिइरहेका छन् भने खोप छुट भएका बालबालिकाहरूलाई नियमित खोप कार्यक्रममा समावेश गरी खोप प्रदान गरिएको छ।

जातिगत रूपमा हाल मकालु– ५ मा दलित ६ जना, जनजाति ६० जना र क्षेत्री ब्राम्हाण ४ जना बालबालिकाले नियमित खोप लिइरहेका डा. राजवंशीले बताइन्। उक्त कार्यक्रममा ९ स्वास्थ्य स्वमंसेविका, ११ स्वास्थ्यकर्मी र ५ कार्यालय सहयोगी गरी २५ जनालाई सम्मानसमेत गरिएको थियो।
 

सुझावित समाचार