जाजरकोटको भेरी नगरपालिकाले परीक्षणका रूपमा हाइब्रिड बिउ उत्पादन सुरु गरेको छ। यसअघि उक्त पालिकाले उन्नत जातको बिउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो।
भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बिउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए।
अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बिउ भेरी नगरपालिका–३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले बताए। उन्नत जातको बिउ उत्पादनको काम सफल भई किसानहरूले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बिउ उत्पादनमा लागेको उनको भनाइ छ।
भेरी नगरपालिकाले किसानहरूलाई तालिम तथा बिउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भम्रणमा लाने गरिएको उनले जानकारी दिए। भेरी नगरपालिकाबाट उन्नत जातका विभिन्न तरकारी तथा अन्नबालीका बिउ उत्पादन भई बजारीकरणको कामसमेत भइरहेको उनले बताए। हाइब्रिड बिउ उत्पादन गर्न अन्य बिउ उत्पादनमा जस्तो सहज नभएको अधिकारीले बताए।
भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती, मनकामना–३ जातको– भेरी नगरपालिका ७ रूपाकोट र मिथ्यांगामा २० हेक्टरमा लगाउँदै आएको छ। त्यस्तै, साबित्री जातको धान भेरी नगरपालिका- ३ होलुज्यूलामा १० हेक्टरमा लगाउँदै आएको अधिकारीले बताए।
भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरी २ हेक्टर जमिनमा गहुँ ,प्याज, रायो, मुला, केराउ र सिमीलगायतका तरकारी बालीको उन्नत बिउ भेरी नगरपालिका- २ बाहुनथानामा सात रोपनी र तिलिंगेमा ६ रोपनीमा उत्पादन भइरहेको उनले जानकारी दिए।
हाल रामपुर हाइब्रिड १० र १२ तथा सिर्जना टमाटरको बिउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परीक्षण प्रदर्शनी भइरहेको उनले बताए।