तीन वर्षमा बन्नुपर्ने दुधौरा पुल ६ वर्षमा पनि अधुरै

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने दुधौरा खोलाको पुल निर्माणमा अत्यधिक ढिलाइ भएको छ । पुल निर्माणको जिम्मा पाएको महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंका प्रोपाइटर तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहको कम्पनीले चरम ढिलासुस्ती गर्दा तीन वर्षमा सम्पन्न हुनुपर्ने दुधौरा पुल ६ वर्ष बित्दासमेत अधुरै रहेको छ ।

सडक विभागमातहतको पुल महाशाखाले ९० मिटर लम्बाइ र २३ मिटर चौडाइको चार लेन पुल निर्माण गर्न १७ करोड २२ लाखमा २४ असार ०७५ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माणाधीन पुल २३ असार ०७८ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर, सम्झौता अवधिभित्र निर्माण नभएपछि  पटक–पटक विभिन्न बहानाबाजी बनाएर कम्पनीले पुलको म्याद थप गर्दै आइरहेको छ । पछिल्लोपटक पुनः म्याद थप गरी २१ चैत ०८१ सम्मलाई म्याद थप गरिएको छ । 

हालसम्म पुल निर्माणको काम ५६ प्रतिशत सम्पन्न भइसकेको सडक विभागमातहतको पुल सेक्टरका इन्जिनियर नीतिश झाले जानकारी दिए । उनले भने, ‘निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको काम झन्डै ४४ प्रतिशत बाँकी छ, हामीले पटक–पटक ताकेता गरेका छौँ, फेरि पनि कामले तीव्रता पाउन नसक्दा समयमै पुल निर्माण हुनेमा शंका छ ।’ 

 यात्रु र सवारीलाई सास्ती
पुल निर्माणमा ढिलाइ हुँदा सो क्षेत्रमा दुर्घटनाको जोखिम छ । वर्षायाममा खहरे खोलाको पानी सुकेपछि मात्र यात्रा गर्नुपर्ने बाध्यता रहेको चालकहरू बताउँछन् । ‘गत वर्ष दुई दिन जंगलमा वास बस्नुपर्यो, निकै ठूलो पानीका कारण खोलामा बाढी आएको थियो भने बेलिबिज्रसमेत बगाउने स्थितिमा थियो,’ सर्लाहीका बसचालक रमेश श्रेष्ठले भने, ‘बन्छ भन्दाभन्दै ६ वर्ष बित्यो, तर यो पुल बन्ने कुनै संकेत देखिँदैन । हामी त दिनमा बस चलाउँछौँ, रात्रिका चालकलाई झनै कठिन हुन्छ ।’

दुधौरा पुल निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाही र ढिलासुस्तीले वर्षायाममा सधैँ सवारीलाई आउजाउ गर्न कठिन हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले बताए । उनले भने, ‘डाइभर्सनका कारण प्रत्येक वर्ष वर्षामा निकै ट्राफिक समस्या हुने गरेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि दुई वर्षमै सक्ने गरी निर्माण थालिएको, तर समयमै भुक्तानी नपाएपछि कामले तीव्रता नपाएको महादेव÷खिम्ती÷हीराचन जेभीका इन्जिनियर अजय झाले बताए । 

सुझावित समाचार