लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सफा मर्स्याङ्दी अभियान सुरु गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा मर्स्याङ्दी गाउँपालिकाले सफा मर्स्याङ्दी अभियान सुरु गरेको हो । अभियानअन्तर्गत गाउँपालिकामा रहेका नाैवटै वडा कार्यालयमा वडाभित्रका सम्पूर्ण विद्यालय, संघसंस्थाहरूको प्रमुखहरूबीच फोहोर व्यवस्थापन र सरसफाइ कार्यक्रमसम्बन्धी छलफल तथा बहस गरिएको छ ।
यस्तै, वडा तथा टोलहरूमा माइकिङमार्फत सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिकाले ०७६ असोजदेखि मर्स्याङ्दी नदीमा फोहोर फाल्न बन्देज लगाएको थियो । जताततै फाल्ने फोहोरले मर्स्याङ्दी नदी दिनदिनै दुर्गन्धित भएको भन्दै गाउँपालिकाले अघिल्लो कार्यकालमै मर्स्याङ्दी नदीमा फोहोर फाल्न प्रतिबन्ध लगाएको थियो ।
सुरुमा मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मर्स्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । सफा मर्स्याङ्दी अभियानअन्तर्गत जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूह, बाबा समूह, युवा क्लबको सक्रियतामा सरसफाइ गरिएको छ ।
होमस्टे, होटेल व्यवसायी, संघसंस्था तथा घरघरले तोकिएको ठाउँमा फोहाेर जम्मा गर्नुपर्ने नियम बनाइएको छ । सबैले डस्टबिनमा फोहाेर फाल्नुपर्ने र कुहिने वस्तुलाई अनिवार्य कम्पोस्ट मल बनाउनुपर्ने नियम मर्स्याङ्दी गाउँपालिकाले बनाएको छ ।