काबेलीका तीनवटा हाइड्रोबाट असोजसम्म विद्युत् उत्पादन

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

काबेली नदीमा रहेको ४७.४३ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली असोजभित्र राष्ट्रिय प्रसारणलाइनमा जडान हुने भएको छ । तमोर नदीको सहायक बनेर बगिरहेको काबेलीमा १३.५ मेगावाटको सुपर काबेली ‘ए’, १२ मेगावाटको सुपर काबेली क्यासकेड र २१.०३ मेगावाटको काबेली–३ आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

तीनवटै जलविद्युत् आयोजना निर्माणका लागि तीन फरक कम्पनी भए पनि एउटै व्यावसायिक समूहको स्वामित्वमा रहेको आयोजनाको जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले जानकारी दिए । तीनवटै आयोजनाको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र असोजभित्रै बिजुली उत्पादन हुने उनले बताए ।

तीनवटै जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली एक सय ३२ केभी काबेली करिडोर प्रसारणलाइनको पाँचथर–अमरपुर सबस्टेसनमा जोडिनेछ । ६ वटा टावर राखेर ३१ किलोमिटर लामो प्रसारणलाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

केही समयअघि मात्रै तमोर नदीमा रहेको ७३ मेगावाटको सानिमा मध्य–तमोर जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । जिल्लामा विभिन्न नदीमा कुल २४ वटा हाइड्रोपावर निर्माण भइरहेका छन् । यी आयोजनाको कुल जडित क्षमता दुई हजार मेगावाटभन्दा बढी छ । त्यसमध्ये दुई सय ८५ मेगावाटको तमोर–५ आयोजना सबैभन्दा ठूलो हो ।

सुझावित समाचार