क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रमअन्तर्गत बालकोटमा दुईदिने वडास्तरीय सूक्ष्म योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ।
सूर्यविनायक नगरपालिकाको आयोजनामा जेठ २० र २१ गते वडा नम्बर ३ नगर स्वास्थ्य केन्द्र बालकोटमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा समुदायमा रहेका क्षयरोगका बिरामीको पहिचान, समस्याको निदान, उपचार पद्धति, भौतिक संरचना र पौष्टिक आहारबारे सूर्यविनायक नगरपालिका क्षयरोगमुक्त अभियान कार्यक्रमकी संयोजक निशानी लुइँटेलले प्रकाश पारेकी थिइन्।
कार्यक्रमलाई ३ नम्बर वडाका नगर स्वास्थ्य प्रमुख सुशील घिमिरे र सूर्यविनायक नगरपालिका क्षयरोग फोकल पर्सन शारदादेवी सापकोटाले सहजीकरण गरेका थिए।
वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको उक्त कार्यक्रमको अन्तिममा समुदायलाई क्षयरोगमुक्त बनाउन समाजको कस्तो भूमिका हुनुपर्छ भन्नेबारे सहभागीबीच छलफल भएको थियो।