सर्वेक्षणअनुसार भाजपाले गुजरात, मध्य प्रदेश, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश र राष्ट्रिय राजधानी दिल्लीजस्ता गढमा पनि आफ्नो प्रभुत्व कायम राख्नेछ
भारतमा लोकसभा निर्वाचनअन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान सम्पन्न भयो । सात राज्य र एक केन्द्रशासित प्रदेशका ५७ सिटका लागि मतदान भएको हो । पन्जाब र उत्तर प्रदेशका १३–१३ सिट, पश्चिम बंगालका नौ सिट, बिहारका आठ, उडिसाका ६, हिमाचल प्रदेशका सबै चार सिट, झारखण्डका तीन सिट र चण्डीगढको एक सिटका लागि मतदान सम्पन्न भयो । प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धी र अन्य धेरै दलका नेता अन्तिम चरणको निर्वाचनमा चुनावी मैदानमा छन् । यस चरणमा कुल नौ सय चारजनाले उम्मेदवारी दिएका छन् ।
भाजपा नेतृत्वको एनडिए गठबन्धनले भारी बहुमत ल्याउने प्रक्षेपण
लोकसभा चुनावको सातौँ र अन्तिम चरणको निर्वाचन सम्पन्न भएसँगै गरिएका सर्वेक्षण (एक्जिट पोलहरू)ले प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने र उनको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले भारी बहुमत ल्याउने आकलन गरेका छन् ।
यद्यपि, ५४३ सिट भएको लोकसभामा यसअघि दाबी गरेजस्तो एनडिएले ४०० सिट भने प्राप्त गर्न नसक्ने निर्वाचनपछिका सर्वेक्षणले प्रक्षेपण गरेका छन् । तर, भाजपाले ३७० सिटसम्म ल्याउन सक्ने प्रक्षेपणले देखाएका छन् । कंग्रेस नेतृत्वको आइएनडिआइए गठबन्धनले भने निराशाजनक मत ल्याउने सर्वेक्षणले देखाएका छन् ।
यद्यपि शनिबार मात्र कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले आफ्नो गठबन्धनले २९५ सिट जित्ने दाबी गरेका छन् । भाजपा एक्लैको ३२७ र कंग्रेसले ५२ सिट ल्याउने सर्वेक्षणमा देखाइएको छ । तथापि सर्वेक्षणहरू सधैँ वास्तविक भने हुँदैनन् ।
जनकी बातले गरेको एक्जिट पोलमा सत्तारुढ भाजपाको गठबन्धन एनडिएले ३६२ देखि ३९२ सिट ल्याउने अनुमान गरेको छ । विपक्षी आइएनडिआइए गठबन्धनले भने केवल १४१ देखि १६१ सिट ल्याउने उसको प्रक्षेपण छ । त्यस्तै, इन्डिया न्युज डी डाइनामिक्सले एनडिए गठबन्धनले ३७१ सिट र कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १२५ सिट जित्ने आकलन गरेको छ ।
त्यसैगरी दैनिक भास्करको एक्जिट पोलमा मोदीको एनडिएले २८१ देखि ३५० सिट ल्याउने आकलन छ । सो एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १४५ देखि २०१ सिट दिएको छ । त्यस्तै, न्युज नेसनले एनडिएले गरेको सर्वेक्षणले पनि एनडिए गठबन्धन भारी मतले विजयी हुने आकलन गरेको छ ।
सर्वेक्षणअनुसार एनडिएले ३४२ देखि ३७८ सिट ल्याउनेछ भने कंग्रेस नेतृत्वको गठबन्धनले १५३ देखि १६९ सिट ल्याउनेछ । अन्य दलले २१ देखि २३ सिट ल्याउने सो सर्वेक्षणले देखाएको छ । त्यस्तै, एनडिटिभी पोल्स अफ पोल्सले एनडिएले ३५७ र विपक्षी गठबन्धनले १४८ सिट ल्याउने प्रक्षेपण गरेको छ । अन्य दलले ३८ सिट ल्याउने उसले आकलन गरेको छ ।
निर्वाचनमा भाजपाले विभिन्न क्षत्रीय पार्टीसँग पनि गठबन्धन गरेको छ । आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडूसँगको गठबन्धनले फाइदा पुर्याएको सर्वेक्षणले देखाएका छन् । एनडिएले राज्यका २५ सिटमध्ये १८ सिट जित्ने अनुमान गरिएको छ ।
कर्नाटकले राज्यस्तरको निर्वाचनमा कंग्रेसलाई प्राथमिकता दिए पनि भाजपालाई भारी मत दिने अपेक्षा गरिएको छ । तेलंगानामा पनि कंग्रेसले विधानसभा चुनावको जित र के चन्द्रशेखर रावको भारत राष्ट्र समितिको पराजयको फाइदा उठाउन नसक्ने सर्वेक्षणले देखाएका छन् । भाजपाले राज्यको १७ सिटमध्ये आधाभन्दा बढी सिट सहजै जित्ने सम्भावना छ ।
बंगालमा भाजपाले पहिलोपटक राज्यको पावरहाउस तृणमूल कंग्रेसलाई पछाडि पार्दै सन् २०१९ मा प्राप्त गरेको १८ सिटबाट १९ पुर्याउने अपेक्षा गरिएको छ । ममता बनर्जीको पार्टीले राज्यको ४२ लोकसभा सिटमध्ये १९ मात्रै जित्न सक्ने आकलन गरिएको छ । पार्टीले गुजरात, मध्य प्रदेश, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश र राष्ट्रिय राजधानी दिल्लीजस्ता गढमा पनि आफ्नो प्रभुत्व कायम राख्नेछ ।
बिहारमा भने परिवर्तन अपेक्षित छ । बिहारले गत चुनावमा एनडिएलाई आफ्नो ४० सिटमध्ये ३९ सिट दिएको थियो । तेजस्वी यादवको राष्ट्रिय जनता दलको नेतृत्वमा रहेको विपक्षी गठबन्धनले सात सिट जित्ने अपेक्षा गरिएको छ । जवाहरलाल नेहरूपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन ।
सात चरणको लोकसभा चुनावको लामो प्रचारका क्रममा प्रधानमन्त्री मोदीले ७५ दिनमा दुई सयभन्दा बढी प्रचार कार्यक्रम आयोजना गरे । यसमा र्याली र रोडसो समावेश थिए । आफ्नो चुनावी अभियान समाप्त गरेपछि प्रधानमन्त्री मोदी बिहीबार साँझ तमिलनाडुको कन्याकुमारीमा विवेकानन्द रक मेमोरियलमा ध्यानका लागि पुगेका थिए । ध्यानमण्डपमा स्वामी विवेकानन्दले ध्यान गरेको ठाउँमा प्रधानमन्त्री मोदीले शनिबारसम्म ध्यान गरेका थिए ।
लोकसभा चुनावको अघिल्लो ६ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । मतगणना जुन ४ मा सुरु हुनेछ । नतिजा सोही दिन आउने अपेक्षा गरिएको छ ।