कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल आइतबारदेखि

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिता धनकुटामा हुने भएको छ। सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा यही जेठ २० गते आइतबारदेखि २४ गतेसम्म धनकुटाको तल्लो टुँडिखेलमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा कोशी प्रदेशका झापाबाट कन्काई नगरपालिका, मोरङको मिक्लाजुङ गाउँपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका, सहिदभूमि गाउँपालिका, छथरजोरपाटी गाउँपालिका र पाख्रीवास नगरपालिका गरी सातवटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष ईश्वर अकेलाले जानकारी दिए।

चार वर्षअघिदेखि धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ। उक्त प्रतियोगितामा विजेताले नगद एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्।

प्रतियोगिता सञ्चालन गर्नका लागि कोशी प्रदेश सरकारले तीन लाख, धनकुटा नगरपालिकाले तीन लाख र अन्य पालिका तथा संघसंस्थाले सहयोग गरेका छन्। प्रतियोगिता सम्पन्न गर्नको लागि करिब आठ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ।

सुझावित समाचार