दैनिक ६२ लाख लिटर उत्पादन, स्वस्थ रहन प्रतिव्यक्ति वार्षिक ९१ लिटर चाहिनेमा ८९.६ लिटर उपलब्धता
कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत
- ६ लाख कृषक परिवार आबद्ध, करिब ४० हजारलाई रोजगारी
- निजी क्षेत्रको लगानी ४५ अर्ब
- दुध बेचेर दैनिक ६ करोड सहरबाट गाउँमा प्रवाह
- ४२ लाख घरपरिवार व्यावसायिक पशुपालनमा
- सरकारी दुई र निजी क्षेत्रको पाँच धुलो दुध कारखाना
घरायसी तथा व्यावसायिक गाईभैँसीपालन बढ्दै गर्दा मुलुकको मागअनुसारको परिमाणमा दुध उत्पादन हुन लागेको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले वर्षमा एउटा व्यक्तिलाई न्यूनतम ९१ लिटर दुध आवश्यक पर्ने जनाएको छ । चालू आर्थिक वर्ष ०८०/८१ को फागुनसम्मको उत्पादन तथ्यांकअनुसार प्रतिव्यक्ति ८९.६ लिटर दुध उपलब्धता छ ।
पछिल्लो समय मुलुक दुध उत्पादनमा आत्मनिर्भरताउन्मुख भएको यो तथ्यांकले देखाउँछ । नश्ल सुधारमा वृद्धि भएसँगै दुध उत्पादनमा आत्मनिर्भरउन्मुख भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको दाबी छ । पाँच वर्षअघि आर्थिक वर्ष ०७५/७६ मा दुध उत्पादन २१ लाख ६८ हजार मेट्रिकटन रहेकोमा चालू आर्थिक वर्षको फागुनसम्म दुध उत्पादन बढेर २६ लाख १४ हजार मेट्रिकटन पुगेको छ । आर्थिक वर्ष ०७५/७६ मा प्रतिव्यक्ति ७४ लिटर मात्र उपलब्धता हुँदै आएको थियो ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले पूर्ण रूपमा आत्मनिर्भर नभए पनि करिब ८० प्रतिशत आत्मनिर्भर भएको बताए । उनले भने, ‘अहिलेको तथ्यांकलाई हेरेर मात्र हुँदैन, कच्चा दुध नै एक वर्षलाई पुग्ने मौज्दात छ ।’ मन्त्रालयका अनुसार कुल दुध उत्पादनमा गाईको भन्दा भैँसीको दुधको हिस्सा धेरै रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ भने ६ लाख कृषक परिवार आबद्ध छन्, जसमा ४० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा रोजगारी पाएका छन् । हाल दुध क्षेत्रबाट दैनिक ६ करोडभन्दा बढी रकम सहरबाट गाउँमा प्रवाह भइरहेको छ । दुध क्षेत्रमा ४५ अर्बभन्दा बढी लगानी निजी डेरी उद्योगको मात्रै रहेको तथ्यांक छ । उत्पादन भएको दुधमध्ये करिब ५० प्रतिशत (३१ लाख लिटर) बजारमा आउँछ भने बाँकी किसान आफैँले प्रयोग गर्ने गरेका छन् ।
बजारमा आएकोमध्ये पनि १५ प्रतिशत औपचारिक क्षेत्रमा लेबलिङ–प्याकेजिङ भई पुग्ने गरेको छ । ३५ प्रतिशत खुला रूपमा बजार बिक्री हुने एसोसिएसनको भनाइ छ । दुग्ध क्षेत्रले ग्रामीण र सहरबीच आर्थिक कारोबार गराउने पुलका रूपमा रही सहरबाट वार्षिक करिब २५ अर्ब ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको एसोसिएसनले जनाएको छ । अहिले करिब ४२ लाख घरपरिवारले गाई–भैँसीपालन गर्दै आइरहेका छन् ।