शल्यक्रियाको पालो कुराउने संघीय अस्पतालको स्थलगत अध्ययन गर्न समिति गठन

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

संघीय अस्पतालहरूमा शल्यक्रियाका लागि बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था, अस्पतालको लापरबाहीलगायत विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ।

मन्त्रालयका अतिरिक्त सचिव डा. दस्पेन्द्ररमण सिंहको संयोजकत्वमा शुक्रबार समिति गठन गरिएको हो।संघीय अस्पतालमा शल्यक्रियाका लागि दुई वर्षसम्म पालो कुर्ने बाध्यताबारे शुक्रबारको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको थियो।

समाचार प्रकाशन भएलगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले वास्तविकता अध्ययन गर्न समिति गठन गरेका हुन्। समितिलाई स्थलगत अध्ययन गरी दुई सातामा सुझावसहित प्रतिवेदन पेस गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार समितिलाई संघीय अस्पतालहरूमा स्थलगत अवलोकन गर्ने, स्रोत–साधन तथा जनशक्तिको अवस्था पत्ता लगाउने,  बिरामीको चाप, स्वास्थ्य पूवार्धार, शल्यक्रियाका लागि पालो कुर्नुपर्ने बिरामीको अवस्थासहितको विवरण पेस गर्न जिम्मा दिइएको छ।

त्यस्तै, सेवाको गुणस्तर हेर्ने, काम गरिरहेका चिकित्सक संख्या,  बहिरंग सेवा लिन आउने बिरामीको अनुपात, चिकित्सकको अनुपात, दैनिक बिरामी जाँच गरे–नगरेको, प्रयोगशाला र रेडियोलाेजीको अवस्थालगायत विषयमा पनि समितिलाई अध्ययन गर्न निर्देशन दिइएको छ।

‘सरकारी अस्पतालमा पालो कुर्ने बिरामीको संख्या बढी भयो भन्ने जानकारी पाएपछि समिति गठन गरिएको हो,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘समितिले स्थलगत रूपमा स्रोत–साधन, जनशक्ति बिरामीको चाप, पूवार्धार कमी भएको हो वा लापरबाही गरिएको हो भन्नेबारे सुझावसहित प्रतिवेदन पेस गर्नेछ।’

सुझावित समाचार