२१औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को दोस्रो दिनको प्रदर्शनी तीन छोटा फिल्मबाट सुरु भएको छ। राष्ट्रिय सभागृहको हलमा अनिल कुर्मीको ‘फेरा’, ‘द स्कुल्स वाल’ र ‘विन्ड हर्स’को प्रदर्शन भएको छ।
नाै मिनेटको फेराले कोभिडका वेला विदेशबाट फर्केर नेपालमै काम गर्न चाहने क्रममा सरकारबाटै ठगिएको परिवारको कथा भन्छ। फिल्मका मुख्य पात्र भक्तले सरकारी सूचीमा आफ्नो नाम नपर्दा राहत नपाएपछि सरकारी कार्यालयहरूको अनेक चक्कर लगाउँछन्। यही चक्कर लगाउने क्रममा उनी गर्भवती श्रीमतीलाई छोडेर फेरि विदेश जाने कि नजाने दुविधामा पर्छन्। फिल्मले संरचनागत भ्रष्टाचार र आममान्छेको नियतिलाई मन छुने गरी देखाएको छ।
दोस्रो फिल्ममा मोहन श्रेष्ठको ‘द स्कुल्स वाल’ देखाइयो। बालकलाकारको मुख्य अभिनय रहेको यो फिल्म हेर्न दर्शक समूहमा स्कुलका विद्यार्थीको ठूलो समूह उपस्थित थियो। २१ मिनेटको यो फिल्मका मुख्य पात्र आदित्य जुत्ता पालिस गरेर जीविका चलाउन बाध्य छन्। तर, उनको मन भने नजिकैको स्कुलमा छ, जहाँ आफ्नै उमेर समूहका बालबालिका स्कुल आउजाउ गरेको दृश्यले लोभ्याएको छ। डाँडामा बसेर स्कुलका गतिविधि नियाल्ने आदित्य पढ्ने रहरकै कारण एक दिन स्कुलको बच्चाको लुगा चोर्छन् र त्यही लुगा लगाएर स्कुल प्रवेश गर्छन्।
फिल्मले एकातिर पढ्ने रहर भएर पनि स्कुल जान नपाएको बच्चाको बालमनोविज्ञानको चित्रण गर्छ। अर्कोतिर, गरिब र धनीबीचको पर्खालले शिक्षाबाट वञ्चित हुँदाको पीडा पनि देखाउँछ।
तेस्रो फिल्म विन्ड हर्स, बाबु–छोराबीचको द्वन्द्वात्मक सम्बन्धको कथा हो। श्रीमतीको निधनमा उपस्थित हुन नपाएका सोनाम आफ्नी श्रीमतीको नाममा प्रार्थना गर्न चाहन्छन्। यसकै लागि उनी नेपाल फर्केका छन्। प्रार्थना गर्ने पवित्र थलोमा पुग्न मुस्ताङको उचाइ छिचोलेर यात्रा गर्नुपर्नेछ। यात्रामा उनको साथमा छोरा कर्मा छन् जोसँग उनको भावनात्मक दूरी छ।
भौगोलिक जटिलता र भावनात्मक दुविधाको संघर्षमा हिँडेका दुई पात्रमा आउने रुपान्तरणलाई फिल्ममा निर्देशक सुनील गुरुङले १० मिनेटको फिल्ममा सुन्दर ढंगले देखाएका छन्।