नेपाल होटेल संघ (हान)ले आगामी आर्थिक वर्षको बजेट स्वागतयोग्य रहेको जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै बजेटले आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी घोषणा भएका कार्यक्रमको कार्यान्वयनमा निजी क्षेत्रको सहभागिता र अग्रसरताबाट हासिल गर्ने सरकारी रणनीति स्वागतयोग्य रहेको जनाएको हो ।
सातै प्रदेश समिटिने गरी प्रमुख पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने गतिविधि अवधारणा उल्लेखनीय रहेको संघले जनाएको छ । व्यापक पर्यटकीय सम्भावना बोकेको भारत र चीनसँगको क्रसबोर्डर पर्यटन विकासका लागि घोषित बुद्ध, शिव, रामायण परिपथ र सीमाबाट नेपालका प्रमुख तीर्थस्थलसम्म सीधा बस सेवा, सीमाक्षेत्रमा पर्यटकलाई एकद्वार सेवा प्रदान गर्ने घोषणा उपयुक्त रहेको संघले जनाएको छ ।
मध्यपहाडी लोकमार्गमा टाकुरा पर्यटन हिल स्टेसन विकास गर्ने, होटेल रिसोर्ट सञ्चालनका लागि जग्गा लिजमा दिने, ग्रेटर हिमालयन, मुन्धुम र गुरिल्ला ट्रेल व्यवस्थित गर्ने बजेटको योजना सकारात्मक रहको होटेल संघ नेपालले जनाएको छ ।सगरमाथा एवं विश्व प्रख्यात हिमशृंखलाप्रति विश्वव्यापी अत्यधिक आकर्षण र मोह रहिआएको सन्दर्भमा नेपाली पर्यटनलाई थप लाभ लिन बजेटले घोषणा गरेको हिमालयन रिसोर्स सेन्टरको अवधारणा सराहनीय रहेको र यसबाट पर्यापर्यटन, साहसिक पर्यटनलगायतका गतिविधि गर्न धेरै खर्च गर्न सक्ने अन्तर्राष्ट्रिय पर्यटकको ठुल्ठूला समूह भित्र्याउन निजी क्षेत्रलाई अग्रसर गराउने योजना समयसापेक्ष रहेको संघको भनाइ छ ।
१६ लाख पर्यटक भित्र्याउने लक्ष्य मौजुदा होटेल र पर्यटनको सेवा क्षमताको आधा मात्र रहेको जनाउँदै काठमाडौंलगायत नवनिर्मित भैरहवा र पोखराको अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सके हालको पर्यटक आवागमन दोब्बर गर्न सकिने जनाउँदै सरकारको नीति तथा कार्यक्रममा प्रमुखताका साथ उल्लिखित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक उडान बढाउने कुनै पनि कुरा बजेट वक्तव्यमा नआएको संघले औँल्याएको छ ।
चालू आवको बजेटमा लगाइएको २ प्रतिशत विलासिता कर तथा हवाई भाडामा लगाइएको १३ प्रतिशत भ्याटबाट नेपाल गन्तव्य झन् महँगो हुने भई पर्यटक आगमनमा कमी आउने सन्दर्भमा यस ०८१/८२ को बजेटमा उक्त विषय हटाउने सरकारको आश्वासन तथा विश्वास व्यक्त भएको, तर उक्त विषयलाई निरन्तरता दिएकोप्रति संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।