मोदीका उत्तराधिकारी शाह कि योगी ?

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

हरेक प्रतिद्वन्द्विताको केन्द्रमा असुरक्षा मौजुद हुन्छ– बर्थ मुर प्रतिद्वन्द्विता विभिन्न क्षेत्रमा सामान्य हो । यसका सकारात्मक र नकारात्मक प्रभाव छन् । स्टिभ जब्स र बिल गेट्सको प्रतिस्पर्धाले नवप्रवर्तनलाई उत्प्रेरित गर्यो । तर, राजनीतिक प्रतिद्वन्द्विता कुरूप पनि हुन सक्छ । उत्तराधिकारी को हुने भन्ने योजनाका सन्दर्भमा यो धेरै लागू हुन्छ । यही ११ मेमा अरविन्द केजरिवालले यदि भाजपाले सन् २०२४ मा पुनः चुनाव जितेर सत्ता हासिल गर्यो भने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई किनारा लगाइने र हालका गृहमन्त्री अमित शाह प्रधानमन्त्री बन्न सक्ने दाबी गरेका छन् ।

आफ्नो टिप्पणीमा केजरिवालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेका थिए, ‘जब उनीहरू प्रधानमन्त्रीका लागि हाम्रो (प्रतिपक्षको) उम्मेदवारबारे सोध्छन्, तब म तिनकै उम्मेदवारलाई प्रश्न गरेर जवाफ दिन्छु । मोदी अर्को वर्ष १७ सेप्टेम्बरमा ७५ वर्षको उमेरमा पुग्नेछन् । स्मरण रहोस्, सन् २०१४ मै मोदीले ७५ वर्षको उमेर पुगेका जोकोहीले पनि सेवानिवृत्त हुनुपर्छ भनेका थिए । त्यसयता आडवाणी, मुरलीमनोहर जोशी, सुमित्रा महाजन, यशवन्त सिन्हा र अन्य वरिष्ठ नेताले ७५ वर्ष पुगेका कारण अवकाश लिएका थिए । अहिले मोदी आफैँ १७ सेप्टेम्बरमा अवकाश लिँदै छन् । वास्तवमा उनी आफ्ना लागि भोट खोजिरहेका छैनन् । बरु अमित शाहलाई अर्को प्रधानमन्त्री बन्ने बाटो खोल्न खोजिरहेका छन् । के अमित शाहले मोदीको ग्यारेन्टीमा गरेका वाचा पूरा गर्नेछन् ?’

मोदीको विरासतका लागि योगी र शाहबीचको स्पष्ट प्रतिस्पर्धाले पार्टीभित्रको गतिशीलतामाथि प्रश्न खडा गरेको छ
 

दुई वर्षअघिको लेख ‘अमित शाह :  डि–फ्याक्टो प्राइममिनिस्टर अफ इन्डिया’मा मैले मोदीले सन् २०२४ को चुनाव आफैँमा लड्नेछैनन्, बरु आफ्ना विश्वासयोग्य पात्र अमित शाहलाई समर्थन गर्नेछन् भनेको थिएँ । चाखलाग्दो के छ भने मोदीले सेवानिवृत्तिको पुष्टि गरेका छैनन् । तर, लेखमा गरिएका अन्य भविष्यवाणी भने सही सावित भएका छन् । मध्यप्रदेशमा जिते पनि शिवराज सिंह चौहानलाई मुख्यमन्त्रीको पदबाट हटाइयो । अमित शाह भाजपाको मामिलामा महत्वपूर्ण नियन्त्रण राख्छन् ।

अमित शाहले मोदीले आफ्नो कार्यकाल पूरा गर्ने स्पष्ट पारे पनि पार्टीका मुख्य आधिकारिक व्यक्तिद्वय पार्टी अध्यक्ष जेपी नड्डा वा मोदी आफैँले स्पष्टीकरण दिएका छैनन् । यसले शाहको प्रभावलाई झल्काउँछ । अमित शाहले खुसीसाथ मोदीको बचाउ गरिरहेका छन् । तर, योगीको सवालमा उनी मौन छन् । स्मरण रहोस्, भाजपाले आफ्नो संगठनात्मक नीति र एजेन्डासँग सम्बन्धित प्रश्न स्पष्ट गर्न कुनै कसर बाँकी राख्दैन । तसर्थ, मोदीको विरासतका लागि योगी र शाहबीचको स्पष्ट प्रतिस्पर्धाले पार्टीभित्रको गतिशीलतामाथि प्रश्न खडा गरेको छ ।

भाजपाभित्र गुरिल्ला युद्ध :  उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ८० महत्वपूर्ण संसदीय सिट भएको भारतको सबैभन्दा ठूलो राज्यमा आफ्नो प्रभुत्व जमाउँछन् । सन् २०१९ मा भाजपाका लागि ६२ सिटमा जित दिलाए पनि उनलाई किनारामा पुर्याइएको छ । भाजपा संसदीय बोर्डजस्ता पार्टीका मुख्य फोरमबाट उनलाई बहिष्कार गरिएको छ र उनमाथि अंकुश लगाउन दुईजना उपमुख्यमन्त्री नियुक्ति गरिएका छन् ।

योगीको कार्यकालमा हुने विभिन्न अधिकारीको नियुक्ति मोदीका आसेपासेको नियन्त्रणमा छ, जसले उत्तर प्रदेशमा समानान्तर सरकारको अनुमानलाई बढावा दिएको छ । धनञ्जय सिंहजस्ता योगीका बफादारलाई टिकट नदिई उनको मन्त्रिपरिषद्मा शिवप्रताप शुक्लाजस्ताको नियुक्तिलाई मोदी–शाहले योगीलाई कमजोर पार्ने कदमका रूपमा लिएका छन् ।

राष्ट्रिय स्वयंसेवक (आरएसएस) को बलियो समर्थनका बाबजुद योगीलाई किनारा लगाइएको छ । हेमन्ता विश्वास शर्मा, जेपी नड्डा र मोहन यादवजस्ता भाजपा नेता शाहसँग घनिष्ठ रूपमा जोडिएका छन् । योगीको स्वतन्त्रता र लोकप्रियताले प्रश्न खडा गर्छ अर्थात् मोदीले शाहलाई उत्तराधिकारीको रूपमा किन मन पराउँछन् ? यस मामिलामा केजरिवालको आरोपमा ठोस व्याख्या छैन । 

नयाँ राजवंश निर्माण गरिँदै : भारतको स्वतन्त्रतापछि कंग्रेसले महात्मा गान्धीको विरासतसँग निरन्तरता कायम गर्दै नेहरू–गान्धी परिवारवरिपरि राजनीतिलाई केन्द्रित गरेको थियो । यो परिवार नेतृत्व र वैचारिक निरन्तरताको केन्द्रका रूपमा अझै पनि काम गरिरहेको छ । परिवारले कंग्रेसका लागि स्थिर ब्रान्ड पहिचान सुनिश्चित गर्दै समर्थकबीच बफादारी र स्थिरता निर्माण गरेको छ ।

कंग्रेसमा झैँ भाजपामा एकल प्रभुत्वशाली वंशज परिवार छैन । कंग्रेसको मोडेल अनुकरण गर्दा मोदी र शाह दुवैलाई फाइदा हुने देखिन्छ । यो मोडेल अपनाउँदा मोदी प्रमुख व्यक्तित्व बन्नेछन् भने शाह परिवार संरक्षकका रूपमा सतहमा आउनेछन् । यो रणनीतिक कदमले भाजपाका अन्य नेतालाई मोदीको विरासतलाई ओझेलमा पार्नबाट रोक्छ र हिन्दुत्वको मोदी विरासतको निरन्तरतालाई सुनिश्चित गर्छ ।

हालै अडानी र अम्बानीविरुद्ध मोदीले कंग्रेसलाई समर्थन गरेको आरोपले योगीलाई अस्वीकार गरेको संकेत गर्छ । शाह परिवारलाई उत्तराधिकार सुम्पनु भनेको मोदीको विरासत सुरक्षित हुनु हो । योगी आदित्यनाथले मोदी विरासत जोगाउन संघर्ष गर्नुपर्ने हुन्छ । मोदी–शाहबीचको गोप्य सम्झौताले भारतको राजनीतिक नेतृत्वबारे प्रश्न खडा गर्छ– विशेषतः वंशवादी राजनीतिको पीडा भोगेको देशमा अर्को परिवारकेन्द्रित मोडेल तयार हुँदै छ कि छैन भनेर ।

कंग्रेसको वंशवादी राजनीतिको आलोचकका रूपमा चिनिने भाजपाले कंग्रेसकै रणनीति अपनाएर आफ्नो लोकतान्त्रिक सिद्धान्तमा सम्झौता गर्ने जोखिम मोल्दै छ । भारतले एउटा महत्वपूर्ण प्रश्नको सामना गरिरहेको छ । के भारतमा एउटा राजनीतिक वंशले अर्को राजनीतिक वंशलाई प्रतिस्थापन त गरिरहेको छैन ? 
(कान्त एसिया टाइम्सका स्तम्भकार एवं नयाँदिल्लीका लागि संवाददाता हुन्) एसिया टाइम्सबाट

सुझावित समाचार