मिटरब्याजी रामदेवका छोराछोरीलाई धरौटीमा थुनामुक्त गर्न सर्वोच्चको आदेश

मुख्य अभियुक्त रामदेव साह फरार

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

विपन्न नागरिकको उठीवास लगाउने सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छोरा र छोरीलाई जनही ५०/५० लाख  रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

खडक नगरपालिका– ७ कल्याणपुरका नन्दकिशोर साह र अनुराधा साहलाई सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत बिहीबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो।

सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई २२ असार २०७९ सालमा  पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। 

खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडाैंबाट पक्राउ गरेको थियो।

ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए। नन्दकिशोर र अनुराधाबाहेक पाँचजना फरार छन्।

विपन्नमाथि भएको अत्याचारबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए। तर, अझैसम्म मिटरब्याजी रामदेव साहसहित उनका परिवारका अन्य सदस्य पक्राउ परेका छैनन्।

सुझावित समाचार