कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौंबाट पक्राउ परेका उनलाई बुधबार अदालतमा उपस्थित गराइएको थियो । करिब ४ घण्टा लामो बहसपछि मुख्य न्यायाधीश चूडामणि खड्काको इजलासले सिरोहियालाई पक्राउ परेको मितिदेखि लागू हुने गरी तीन दिन थुनामा राख्न अनुमति दिएको हो ।
सिरोहियाको नागरिकता नम्बर त्यसअघि नै धनुषाका शिवजी साहु तेलीको नाममा देखिएको, नागरिकता लिँदा पेस परेको कागजातको अभिलेख फेला नपरेकोलगायतका विभिन्न ६ बुँदे कारण देखाई प्रहरीले अनुसन्धानका लागि ११ दिन थुनामा राख्ने गरी सरकारी वकिल कार्यालय धनुषामा अभियोगपत्र दर्ता गराएको थियो । सरकारी वकिल कार्यालयले भने सिरोहियालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न माग गरेको थियो ।
सिरोहियाको पक्षमा काठमाडौंबाट रमणकुमार कर्ण, जनकपुरका वरिष्ठ अधिवक्ता विनोद शर्मा, नवलकिशोर लाभसहितले बहस गरेका थिए, भने सरकारको तर्फबाट धनुषाका सरकारी वकिल सुमन दंगालले बहस गरेका थिए ।