नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’को अवलोकन गरेकी छिन् । अवलोकनका क्रममा राजदूत भोल्कले तालिमको पाठ्यवस्तु, सिकाइ प्रक्रिया, श्रम बजारसँगको सम्बन्ध, साझेदारी र यसपछि सञ्चालन हुने क्रियाकलापका विषयमा जिज्ञासा राखेकी थिइन् ।
राजदूतका जिज्ञासाको जवाफमा उपप्रमुख सुनीता डंगोलले ‘सीप मेला’ सबैलाई समान अवसर प्रदान गर्ने व्यावसायिक क्षमता विकास कार्यक्रम भएको बताएकी छिन् । अवलोकनका क्रममा राजदूत भोल्कले मेलाले प्रोत्साहित बनाएको बताएकी छिन् । ‘स्वदेशमा अवसर छन् । म यहीँ केही गर्न सक्छु । यसका लागि मेरो क्षमता छ भन्ने सन्देश मेलाको महत्वपूर्ण पक्ष हो भन्ने ठानेकी छु,’ उनले भनिन् ।
उनले यस्ता तालिमका लागि संघीय सरकारले नीति बनाएर प्रदेश सरकार, स्थानीय सरकार र साझेदारबीच सहकार्यको वातावरण तयार गर्न सके थप प्रभावकारी नतिजा आउने बताइन् ।