२८ प्रतिस्पर्धीलाई उछिन्दै मिलनले चुमे राष्ट्रिय गायन प्रतियोगिताको उपाधि

बृहत् खोटाङ-हलेसी महोत्सव-२०८१

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत १८ वर्षमुनिका राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले चुमेका छन्।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा गएराति सम्पन्न प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिलनले उपाधि चुमेका हुन्।  

देशभरका २९ जना प्रतियोयोगीको सहभागिता रहेको प्रतियोगितामा सुदीप विश्वकर्मा दोस्रो, कञ्चन राई तेस्रो, अदिती शाक्य चौथो तथा डेनिस राई पाँचौँ भएको आयोजकले जनाएको छ। 

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः रु. ४० हजार, रु. २५ हजार, रु. १७ हजार, रु. ११ हजार र सात हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। 

प्रतियोगिताका विजयी तथा सहभागी गायक–गायिकालाई कार्यक्रमका प्रमुख अतिथि गीतकार एवं कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन्। 

खोटाङ कलाकार समाजको सहआयोजनामा सञ्चालन भएको राष्ट्रिय गायन प्रतियोगिताको निर्णायकमा वरिष्ठ संगीतकार महेश खड्का, गायिका पार्वती राई र गायक तथा संगीतकार रोशन राई रहेका थिए।  

प्रतियोगितामा सहभागीमध्ये पहिलो चरणबाट दोस्रो चरणमा उत्कृष्ट १५ छनोट गरिएको थियो। उत्कृष्ट १५ मा छनोट भएकाले पुनः प्रस्तुति दिएपछि विजेतासँगै उत्कृष्ट पाँच छनोट गरिएको सहआयोजक खोटाङ कलाकार समाजका अध्यक्ष गायक तथा संगीतकार रूपकुमार राईले जानकारी दिएका छन्। 

वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गायन प्रतियोगिता समापनको अवसरमा वरिष्ठ संगीतकार महेश खड्का र गायिका पार्वती राईलाई सम्मान गरिएको छ। 

खोटाङमा जन्मिएर नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदरस्वरूप संगीतकार खड्का र गायिका राईलाई सात हजार सात सय ७७ नगदसहित सम्मानपत्रले सम्मान गरिएको आयोजकले जनाएको छ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायतका उद्देश्यसहित खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिएका छन्। 

११ दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत गत वैशाख ३१ गते एथ्लेटिक्स विद्याका प्रतियोगिता तथा जेठ ४ गते खुला राष्ट्रिय कविता प्रतियोगिता सञ्चालन गरिएको थियो। 

एथ्लेटिक्स विद्याका प्रतियोगिताअन्तर्गत खुला महिला–पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा तथा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेका छन्। उपाधि विजेता बुढा र राईलाई जनही नगद ७५–७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। 

त्रिधार्मिकस्थल हलेसीमा आयोजित खुला राष्ट्रिय कविता प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै सुनसरीका कवि किरण सिवा उपाधि जिते। प्रतियोगितामा १५ जना प्रतियोगीलाई पछि पार्दै कवि सिवाको ‘बिर्खे दमाईंको आवाज’ शीर्षकको कविताले रु. ४० हजार राशिको उपाधि जितेको हो। 

महोत्सवअन्तर्गत जेठ ८ गतेदेखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुँदै छ । सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, बादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी प्रतियोगितामा महिला–पुरुष टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु. एक लाख ११ हजार १११, रु. ५५ हजार ५५५, रु. ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ। 

चन्दा संकलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु. ५२ लाख खर्च हुने आयोजक जनाएको छ। दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन्।  

महोत्सव सफल पार्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौवटा उपसमिति गठन गरिएको छ। महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवं सांगीतिककर्मीहरू दिक्तेल बजारमा भेला भएका छन्। 
 

See More On

सुझावित समाचार